Sagun Khabar
मौसममा बदली : लेकाली क्षेत्रमा चिसो बढ्यो, बालीनालीलाई राहत 

बैतडी–मौसममा आएको बदलीले बैतडीसहित उच्च लेकाली क्षेत्रमा चिसो बढेको छ । शनिबार बिहानदेखि मौसममा आएको परिवर्तनले बैतडीका उच्च लेकाली क्षेत्रहरुमा चिसो बढेको हो । जिल्लाको सतबाँझ, मुस्याचोर, खोड्पे, श्रीभावर,सिगास लगायतका उच्च लेकाली क्षेत्रमा पानी परेपछि चिसो बढेको स्थानीयहरुले बताएका छन् । 

आज पानी परेसंगै उच्च लेकाली क्षेत्रहरुमा चिसो बढेको बैतडीको सिगासकी लक्ष्मी शाह चन्दले बताइन् । उच्च क्षेत्रमा चिसो बढेको उनले बताइन् । 

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा आज समान्य पानी परेको थियो । बर्षाका कारण उच्च लेकाली क्षेत्रहरुमा चिसो बढेको र हिमाली क्षेत्रमा हिमपात भएको स्थानीयहरुले बताएका छन् । 

चिसोको समयमा बालबालिका तथा वृद्धवृद्धाहरु बढी प्रभावित हुने भएकाले उनीहरुको स्वास्थ्यमा ख्याल राख्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । चिसो बढेसंगै न्यूमोनिया, दम, श्वासप्रश्वास लगायतका समस्या बढी देखिने भएकाले यो बेला सजक रहनुपर्ने सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । यो बेला बालबालिकाहरुलाई न्यानो लुगा लगाइराख्नुपर्ने, तातो र झोलिलो खानेकुरा दिनुपर्नेमा उनले जोड दिए । 

यसैबीच आज परेको पानीले बालीनालीलाई भने सहयोग पुगेको कृषि प्राविधिकहरुले बताएका छन् । थोरै भएपनि गहुँखेती, तरकारी खेती र अन्य बालीनालीलाई यो बर्षाले राहत मिलेको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । 

सिँचाई सुविधा नभएका ठाउँमा गहुँ उम्रन र तरकारी बालीका लागि यो बर्षाले सहयोग पुग्ने उनले बताए । आकाशे पानीको भरमा खेती गरिरहेका किसानहरुका लागि यो बर्षाले निकै राहत पुगेको कृषि शाखा प्रमुख अवस्थीले बताए । 

बैतडीका लेकाली क्षेत्रहरुमा गहुँबाली छरिसकेकाले यो बर्षाले गहुँबाली उम्रिन र उम्रेको बाली हुर्काउन सहयोग मिल्ने उनले बताए ।  
 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update