बैतडी–बैतडीको पुर्चौंडीमा एक घरमा आगलागी भएको छ । पुर्चौंडी नगरपालिका वडा नं १ डाँडाकोटस्थित जयानन्द जोशीको घरमा आइतबार राति साढे ९ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।
लक्ष्मीपूजाको राति जोशीको दुई तले आठकोठे कच्ची घरमा मैनबत्तीबाट सल्केको आगोले विद्युतको तार सट हुनुका साथै दुईओटा ग्यास सिलिण्डर समेत पड्किएका र ३० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक केसीले बताए ।
जोशीमा घरमा लागेको आगो एकघण्टापछि राति साढे दश बजे नियन्त्रणमा लिइएको थियो । स्थानीयबासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
ग्यास सिलिण्डर पड्किएका कारण घरको माथिल्लो तला पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने घरमा डेरा गरी बस्ने कर्मचारीको एकथान ल्यापटप समेत नष्ट भएको छ । यस्तै आगलागीबाट दुई तोला सुन र ५० तोला चाँदी पनि नष्ट भएको प्रहरी निरीक्षक केसीले बताए ।
आगलागीबाट जोशीको घरभित्र रहेको अन्नपात, लत्ताकपडा र अन्य घरायसी सामग्री जलेर नष्ट भएका छन् । सबैले मिलेर आगलागी नियन्त्रणमा लिएकाले मानवीय र पशुचौपायामा क्षति हुन नपाएको प्रहरी निरीक्षक केसीले बताए ।




