बैतडी –बैतडीको दशरथचन्द नगरपालिका २ थलाल गाउँका किसानहरु आजभोलि प्याजको बेर्ना विक्रि गर्ने कार्यमा व्यस्त रहेका छन् । बैतडी स्थानीय जातको बीउ र बेर्ना उत्पादन गरिरहेका किसानहरु प्याजको बेर्ना विक्रि गर्ने कार्यमा व्यस्त रहेका हुन् ।
प्याज रोप्ने समय शुरु भइसकेकाले तयार भएको बेर्ना विभिन्न ठाउँमा विक्रिका लागि लैजाने गरेको किसान गोपालसिंह थलालले बताए । कतिपय ठाउँमा आँफै पुगेर प्याजको बेर्ना विक्रि गर्ने गरिएको छ भने कतिपय ठाउँमा अर्डर अनुसार पठाउने गरिएको उनले बताए ।
नेपाल कृषि अनुसन्धान परिषदले ‘बैतडी स्थानीय प्याज’को बीउ प्रमाणीकरण गरेपछि आफूहरुले बीउ पनि उत्पादन गर्ने गरेका अर्का किसान विक्रमसिंह थलालले बताए ।
एक रुपैयाँको दुईबोटका दरले किसानहरुले प्याजको बेर्ना विक्रि गरिरहेका छन् । गाउँका ३० भन्दा बढी परिवारले प्याजको बेर्ना उत्पादन गरेको अर्का किसान मोहनसिंह थलालले बताए । उनले भने ‘हामीले उत्पादन गरेको प्याजको बेर्ना अहिले विक्रि गर्ने कार्यमा व्यस्त रहेका छौं ।’
थलाल गाउँमा उत्पादित प्याजको बेर्ना बैतडीमात्रै नभएर दार्चुला तथा डडेल्धुरा सम्म समेत विक्रि हुने गरेको छ । अहिले सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा जात्राको समय चलेकाले जात्रामै गएर प्याजको बेर्ना विक्रि गर्ने गरिएको थलालले बताए ।
प्याजको बीउ र बेर्नाबाट किसानहरुले गतिलो आम्दानी गर्दै आएका छन् । प्याजको बीउ र बेर्ना नै आफूहरुको जिविकोपार्जनको श्रोत बनेको किसानहरुको भनाइ रहेको छ ।




