Sagun Khabar
उग्रतारा मन्दिरको जात्रा मंसिर १२ गते 

डडेल्धुरा –सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ मंसिर १२ गते लाग्ने भएको छ । डडेल्धुरास्थित उग्रतारा मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको राति (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ । मंसिर ११ गते रतेडी र १२ गते दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।

छचोडा, खनमडा, दुमडा र जिलोडामा रहेका भण्डार घरबाट भण्डार ल्याउने गरिन्छ । डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधनाका लागि पुग्ने गर्दछन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए ।

परम्परादेखि लाग्दै आएको यस मेलाको आफ्नो महत्व रहेको समेत उनको भनाइ छ । 

किम्बदन्तीअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ । वर्षमा एकपटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update