बैतडी–बैतडीको सिगास गाउँपालिका वडा नं १ स्थित बेसरा गाउँघर क्लिनिक रिपोर्टमा मात्रै सञ्चालनमा रहेको पाइएको छ । दुर्गमका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको गाउँघर क्लिनिक पछिल्लो एक बर्ष यता सञ्चालन हुन नसकेको स्थानीयहरुले जानकारी दिएका छन् ।
स्वास्थ्य कार्यालय बैतडीले अनुगमन गर्दा गाउँघर क्लिनिक सञ्चालनमा नरहेको बारेमा जानकारी प्राप्त भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । महिनाको एक दिन सञ्चालन हुनुपर्ने गाउँघर क्लिनिक एक बर्षदेखि बन्द रहेको पाइएको उनले बताए ।
गाउँघर क्लिनिक सञ्चालन नहुँदा भवनभित्र बाख्राका बड्कौला भेटिएका छन् । भवन समेत जीर्ण बन्दै गएको छ ।
महिनाको एकदिन सञ्चालन हुने गाउँघर क्लिनिकमा गर्भवती महिलाको चेकजाँच, परिवार नियोजन सेवा, बालबालिकाहरुको वृद्धि अनुगमन, समान्य घाउ चोटपटकको प्राथमिक उपचार हुने भएपनि यो क्लिनिक भने बन्द अवस्थामा रहेको पाइएको हो ।
यद्यपि रिपोर्टमा भने बेसरा गाउँघर क्लिनिक नियमित रुपमा सञ्चालनमा रहेको देखिएको छ । स्वास्थ्यचौकीले पठाउने रिपोटमा गाउँघर क्लिनिक सञ्चालनमा रहेको भएपनि फिल्डमा जाँदा गाउँघर क्लिनिक बन्द अवस्थामा रहेको स्वास्थ्य प्रमुख भट्टले बताए ।
यस्तै आधारभूत स्वास्थ्य केन्द्र जुकेपानीमा कार्यरत स्वास्थ्यकर्मी बिदा स्वीकृत नगराएरै लामो समयसम्म बिदामा बसेको पाइएको छ । अनुगमनका क्रममा बिदा स्वीकृत गर्ने निकायबाट बिदा नै स्वीकृत नगरेर स्वास्थ्यकर्मी बिदामा बसेको पाइएको हो ।
नागरिकहरुको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि स्वास्थ्यचौकीको पहुँचभन्दा टाढा रहेका क्षेत्रमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएका छन् । तर ती केन्द्रमा कार्यरत कर्मचारीहरु आफूखुसी बिदामा बस्दा नागरिक सेवा पाउनबाट वञ्चित भएका छन् ।
सिगासको बेसरामा अनुगमन गर्दा गाउँघर क्लिनिक सञ्चालन नभएको अवस्था फेला पर्दा जिल्लाका अन्य ठाउँका क्लिनिकहरु समेत सञ्चालन भए÷नभएको बारेमा आशंका उब्जिएको स्वास्थ्य प्रमुख भट्टले बताए ।
जिल्लाभरी ३ सय बढी गाउँघर क्लिनिक रहेका छन् । कागजी रिपोर्टमा सबै गाउँघर क्लिनिक सञ्चालनमा रहेका भएपनि अधिकांश ठाउँमा सेवा सञ्चालनमा नरहेको स्थानीयबासिन्दाहरुको भनाइ छ ।




