Sagun Khabar
विपिन जोशीलाई हमास समूहले लगेको पुष्टि भए पनि अझै सम्पर्कविहीन

बैतडी –गएको असोज २० गते इजरायलमा भएको आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीलाई हमास समूहले बन्धक बनाएर लगेको पुष्टि भएको छ ।

इजरायलमा रहेको नेपाली दूतावासका अनुसार हमास समूहले इजरायलमा आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्येमा जोशी पनि रहेका इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन् । तर पनि जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको र खोजी गर्ने काम भइरहेको दूतावासले जनाएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका –१ रीम मूल घर भएका विपिनका परिवार अहिले कञ्चनपुर बस्दै आएका छन् । 

जोशीको सकुशल उद्धारको माग गर्दै केही दिनअघि उनका आमाबुबाले परराष्ट्र मन्त्री एनपी साउदसँग भेट गरेका थिए । परराष्ट्रमन्त्री साउदले जोशीको सकुशल उद्धारको लागि नेपाल सरकार, नेपाली दूतावास, इजरायल सरकार लगायतका निकाय अथक प्रयासमा रहेको बताएका छन् । 

विपिन सम्पर्क विहिन भएको ४५ दिन भइसक्दा समेत केही पत्ता नलागेपछि उनको परिवार चिन्तामा परेको छ । विपिनको सकुशल रिहाइको वातावरण बनाउन विपिनका परिवारले पटक–पटक सरकारलाई आग्रह गर्दै आएका छन् । 

गएको असोज २० गते इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने ४ जना विद्यार्थी घाइते भएका थिए ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update