बैतडी –बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा जात्राको रौनक जारी रहेको छ । जिल्लाका प्रसिद्ध शक्तिपीठ तथा मन्दिरहरुमा जात्रा भइरहेको हो । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा कार्तिक शुक्ल पक्षभरी जात्रा लाग्ने गर्दछ ।
जात्राको अवसरमा विभिन्न स्थानीय तहहरुले बिदा दिँदै आएका छन् । आज पनि बैतडीका दुई स्थानीय तहमा सार्वजनिक बिदा दिइएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका र पुर्चौंडी नगरपालिकामा आज बिदा दिइएको हो । पुर्चौंडी नगरपालिका क्षेत्रभित्र भोलि पनि बिदा रहेको नगरपालिकाले जनाएको छ ।
दशरथचन्द नगरपालिकाले प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिएको हो । आज नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकायहरुमा बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
दशरथचन्द नगरपालिका वडा नं ८ स्थित त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्दै आएको छ । यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गर्दछन् ।
यस्तै पुर्चौंडी नगरपालिकाले राताशीला त्रिवेणी धाममा लाग्ने गिरेगडा कफलाखाना जात्राको अवसरमा दुई दिन स्थानीय बिदा दिएको हो । आज र भोलि नगर क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा रहेको नगरपालिकाले जनाएको छ ।
राताशीला त्रिवेणी धाममा हरेक बर्ष हरिबोधनी एकादशीको दिन ठूलो जात्रा लाग्ने गर्दछ । स्थानीयहरुले यो जात्रालाई गिरेगडा कफलाखाना जात्रा भन्ने गरेका छन् । यो जात्रामा भकुण्डो खेल्ने प्रचलन रही आएको छ ।
जात्राको अवसरमा देउडा कार्यक्रमको समेत आयोजना गरिएको छ ।




