Sagun Khabar
दशरथचन्दमा खेल शिक्षकहरुलाई प्रशिक्षण 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले खेल शिक्षकहरुलाई प्रशिक्षण दिन थालेको छ । माध्यमिक तहका खेल शिक्षकहरुका लागि बिहीबारदेखि दुई दिने अभिमुखीकरण कार्यशाला शुरु गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए । 

अभिमुखीकरण कार्यशालामा दशरथचन्द नगरपालिकाभित्रका २४ओटा माध्यमिक विद्यालय मध्ये २१ ओटा विद्यालयका खेल शिक्षकहरुको सहभागिता रहेको छ । 

Atrya hospital

विद्यालयस्तरमा खेलकुदका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि खेल शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले बताए । 
विद्यालयबाटै खेलाडीहरु उत्पादन हुने भएकाले खेल शिक्षकहरुलाई प्रशिक्षण दिन थालिएको हो । 

दशरथचन्द नगरपालिका २ देहीमाण्डौं सञ्चालित अभिभमुखीकरण कार्यशालामा खेलकुदका विभिन्न विधाका बिषयमा शिक्षकहरुलाई प्रशिक्षण दिइने अध्यक्ष चन्दले बताए । 

नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको कार्यशाला उद्दघाटन कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशीले खेल र खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि नगर सरकार लागिपरेको बताए । खेलकुद क्षेत्र नगरपालिकाको प्राथमिकतामा रहेको बताउँदै उनले सबै विधाका खेलहरुमा नगरपालिकाले लगानी गर्ने दाबी गरे । 

कार्यशाला उद्दघाटन सत्रमा विशिष्ट अतिथी रुपमा नेपाल क्रिकेट सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष रमेश बोहरा सहभागी थिए । यस्तै भलिबल प्रशिक्षक हरिसिंह भण्डारी, भलिबलका प्रदेश प्रशिक्षक लालबहादुर बटाला, एथलेटिक्सका रामचन्द्र जोशी, कबड्डीका तर्कराज भट्ट र क्रिकेटका प्रशिक्षक दिपेन्द्रबहादुर चन्द लगायतको सहभागिता रहेको थियो । 

अभिमुखीकरण कार्यशाला शुक्रबारसम्म सञ्चालन हुने जनाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update