Sagun Khabar
सुदूरका शक्तिपीठ र मन्दिरमा जात्रा : पारिवारिक मिलनका पर्व   

बैतडी –तिहारपछि सुदूर पहाडका विभिन्न जिल्लामा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा हजारौं दर्शनार्थीहरुले दर्शन गरेका छन् । लक्ष्मीपूजापछिको १५ दिन सम्म बैतडी,दार्चुला, डडेल्धुरा, डोटी, बझाङ, अछाम र बाजुराका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा लागेका जात्रामा हजारौं दर्शनार्थीहरुले दर्शन गरेका छन् । 

जात्राका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आएका त्रिपुरासुन्दरी सेवा समितिका अध्यक्ष गणेश थापाले बताए । कार्तिक शुक्ल पक्षमा लाग्ने जात्रामा त्रिपुरासुन्दरीको मात्रै हजारौं दर्शनार्थीहरुले दर्शन गरेका उनले बताए । उनले भने ‘जात्राको समयमा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् । यो बर्ष पनि हजारौं दर्शनार्थीहरुले दर्शन गरेका छन् ।’

स्वास्थ्य सन्देश
Atrya hospital

राष्ट्रको सातौं धामको रुपमा रहेको दार्चुलाको मालिकार्जुन जात्रामा हजारौं दर्शनार्थीहरुले दर्शन गरेका छन् । मालिकार्जुनको दर्शनका लागि यो बर्ष पनि टाढाबाट भक्तजनहरु पुगेका स्थानीय गंगासागर जोशीले बताए । उनले भने ‘लक्ष्मीपूजापछिको १५ दिन गाउँघरमा निकै रमाइलो भयो । जात्राका लागि धेरै ठाउँका मानिसहरु एकै ठाउँमा भेटिए ।’

लक्ष्मीपूजाको १५ दिनपछि बैतडीका प्रसिद्ध शक्तिपीठहरु त्रिपुरासुन्दरी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, कफलाशैनी भगवती मन्दिरहरुमा बलिसहित जात्रा सम्पन्न भएका छन् । यस्तै प्रसिद्ध धामका रुपमा रहेका सिगास धुरा, रौलाकेदार,शिवनाथ, महारुद्र, गणमेश्वर, राताशीला लगायतका मन्दिरहरुमा पनि कार्तिक शुक्ल पक्षमै जात्रा भए । यी जात्राहरुमा हजारौं दर्शनार्थीहरुको सहभागिता रहेको थियो । 

डडेल्धुराको प्रसिद्ध भागेश्वर, उग्रतारा लगायतका मन्दिरहरुमा कार्तिक शुक्ल पक्षमै जात्रा भयो भने डोटीको प्रसिद्ध शैलेश्वरी, बडीकेदार लगायतका मन्दिरहरुमा समेत जात्रा सम्पन्न भएको छ । 

सुदूरपहाडमा कार्तिक शुक्ल पक्षमा जात्रा लागेको समयमा बसाइसराई गरेर गएकाहरु पनि पुख्र्यौली थलोमा फर्कने गरेका छन् । यी जात्राहरुलाई पारिवारिक भेटघाट र मिलनको पर्वका रुपमा समेत लिन सकिने स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । 

यस्तै स्थानीय उत्पादनहरुको बजारीकरणका लागि पनि शक्तिपीठ तथा मन्दिरमा लाग्ने जात्राहरु निकै महत्वपूर्ण रहेका मेलौली नगरपालिकाका स्थानीय महेशदत्त भट्टले बताए । पारिवारिक भेटघाट, मौलिक खानाका परिकार र स्थानीय उत्पादनको बजारीकरणका लागि यस्ता जात्राहरुको निकै महत्व रहेको उनले बताए । उनले भने ‘यी जात्राहरुको धार्मिक महत्वमात्रै छैन् । सामाजिक, पारिवारिक र व्यवसायिक हिसाबले पनि धेरै महत्वपूर्ण छन् । बर्षौंसम्म भेट नभएका आफन्तहरुसंग भेटघाट हुन्छ ।’

शक्तिपीठ तथा मन्दिरमा लागेका जात्राहरुको धार्मिक, पारिवारिक, सामाजिक र आर्थिक महत्व रहेको जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक पृथ्वीराज अवस्थीले बताए । उनले भने ‘जात्राको समयमा आफन्तहरुसंग भेटघाट हुन्छ । टाढा रहेका आफन्तहरु एकै ठाउँमा भेटिन्छन् ।स्थानीय उत्पादनको पनि व्यापार व्यवसाय हुन्छ । सामाजिक सदभाव बढाउने कामहरु पनि हुन्छन् ।’

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update