बैतडी - बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ स्थित सिगास मा वि गौरी संकर पोखरीमा पानीको अभाव भएको छ । ३१ वर्ष पुरानो पानी ट्याङ्कीबाट पानीको जोहो गरिरहेको विद्यालयमा पानी ट्याङ्की संगै इन्ट्याक , पाइप लाइन र पानीका धारा जिर्ण भएसंगै विद्यालयले पानीको अभाव खेप्नु परेको बताइएको छ ।
पानी ट्याङ्की सहित पानी संचालनका भौतिक संरचना पुर्ण रूपमा जिर्ण भएका भएपनी स्थानीय सरकार र सरोकारवालाको चासो नहुदा थप समस्या भएको बताइएको छ । वि.स २०५१ सालमा एसियन विकास बैंकको सहयोगमा निर्माण गरिका खानेपानीका भौतिक संरचना अहिले पुर्ण रुपमा जिर्ण भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिँह भाटले बताए ।
विद्यालय प्रयोजनको लागि एसियन विकास बैंकको सहयोगमा निर्माण भएको खानेपानी योजनाबाट सिगास मा वि गौरी संकर पोखरीले ३१ वर्षअघि देखि उक्त पानी ट्याङ्कीबाट पानीको जोहो गर्दै आएको भएपनि हाल सो ट्याङ्की, इन्ट्याक, पाइपलाइन र धारा सबै जिर्ण भइसकेका कारण विद्यालयमा पानी आपूर्तिमा समस्या भएको शिक्षक दिलिप कठायतले बताए ।
विद्यालयका शिक्षकहरूका अनुसार ट्याङ्कीमा पानी जम्मा हुने प्रणाली नै नचल्दा दैनिक पिउने पानी, सरसफाइ र विद्यार्थीहरूको स्वास्थ्यसम्बन्धी समस्या दिनप्रतिदिन गहिरिँदै गएको बताइएको छ । करिब पाँच सय विद्यार्थी संख्या रहेको विद्यालयमा पानीको समस्या हुदा पठनपाठनमा समेत अवरोध आएको छ ।
विद्यालय स्रोतका अनुसार वर्षौंदेखि यही पुरानो ट्याङ्कीको भरमा पानी चलाउँदै आएका भएपनि, अहिले इन्ट्याक भत्किएको, पाइपलाइन फुटेका र ट्याङ्की पनि चुहिने गरेको बताइएको छ । अहिले उक्त विद्यालयमा पानी नहुँदा सरसफाइमा कठिनाइ भएको छ । विद्यार्थीहरूलाई पिउने पानीका लागि बाहिर पठाउनु पर्ने अवस्था रहेको विद्यालय शिक्षक कठायतले बताएका छन ।
उहाँका अनुसार विद्यालयमा पानी आपूर्तिका लागि पटक–पटक स्थानीयतह र सरोकारवालाको ध्यानाकर्षण गराइएको भएपनी स्थानीय सरकार र सरोकारवालाबाट ठोस पहल हुन नसकेको गुनासो रहेको छ । विद्यालय प्रशासनले पनि सम्बन्धित निकायमा पटक–पटक पत्राचार गरेपनि बजेट र योजना अभावमा मर्मत सम्भार हुन नसकेको बताइएको छ ।
सिगास मा वि गौरी संकर पोखरी भौगोलिक रूपमा उकालो र अग्लो क्षेत्र भएकाले खानेपानीका स्रोत टाढा रहेका छन् । विद्यालयको पानी ट्याङ्की तीन दशकअघि निर्माण गरिएको भएपनि त्यसपछिका वर्षहरूमा न त नयाँ संरचना बने, न त पुरानोको मर्मत सम्भार भयो ।
शिक्षक, विद्यार्थी र अभिभावक सबैले तत्काल नयाँ पानी ट्याङ्की निर्माण र पाइपलाइन मर्मतको माग गरेका छन् । विद्यालयमा सरसफाइ र स्वास्थ्यको मापदण्ड पालना गर्नै कठिन छ, पानी विना शिक्षाको मैत्रीपुर्ण वातावरण सम्भव नरहेकाले तत्काल समस्या समाधानमा जुट्न विद्यालय परिवारले आग्रह गरेको छ ।
बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ गुरुडा स्थित गौरी शंकर माध्यमिक विद्यालयमा अहिले कक्षा १२ सम्म पढाइ हुने गर्दछ । यस क्षेत्रको शिक्षाको मुल रहेको गौरी शंकर पोखरीमा पानी आपूर्तिको समस्या दशकौँदेखि समाधान हुन नसक्नु शिक्षा र पूर्वाधार विकासप्रतिको सरकारी बेवास्ताको उदाहरण बनेको छ । विद्यार्थीहरूको स्वास्थ्य र पठनपाठनमा सीधा असर परिरहेकोले तत्काल हस्तक्षेपको आवश्यकता रहेको सरोकारवालाहरूको भनाइ रहेको छ ।
यता वडा सरकारले भने गौरी शंकर विद्यालयको पानी समस्या समाधानका लागि प्रारम्भिक हुने बताइएको छ। आगामी समयमा प्राथमिकतामाका साथ योजना अघि बढाइने र तत्काल विद्यालयको दैनिक शैक्षिक गतिविधिमा असर नपर्ने गरि अस्थायी समाधानको बाटो खोज्ने पाटन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष करुणाकर भट्टले बताए ।





