Sagun Khabar
सुदूरपश्चिममा बत्ती बाल्ने महिना शुरु
बैतडीको प्रसिद्ध रौलाकेदार धाम

बैतडी –श्रावण महिना शुरुभएसंगै बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा गर्नेहरुको संख्या बढ्न थालेको छ । बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लामा साउन महिनालाई बत्ती बाल्ने महिनाको रुपमा समेत लिने गरिएकाले मन्दिरमा बत्ती बाल्ने चलन समेत रही आएको छ । 

साउन महिनाभरी शक्तिपीठ तथा मन्दिरहरुमा पुगेर बत्ती बाल्ने, भजन किर्तन गर्ने लगायतका चलनहरु रही आएका छन् । साउन महिनामा मन्दिरहरुमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले श्रावण महिनामा मन्दिरहरुमा भक्तजनहरु जाने गरेको अनिरुद्र मन्दिरका पूजारी गणेशदत्त अवस्थीले बताए । उनले भने ‘साउन महिनाभरी देवीदेवताका मन्दिरहरुमा पूजापाठ गर्ने चलन रही आएको छ । श्रावण महिनालाई भगवान शिवको महिनाका रुपमा लिने गरिन्छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीमा सातबैनी भगवती र सातभाई केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको स्थानीयबासीले बताएका छन् ।

जिल्लाका त्रिपुरासुन्दरी, निङगलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिर, रौलाकेदार, सिगासधुरा दोगडाकेदार, उदयदेव मन्दिरमा भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका छन् । 

जिल्लाको सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, सिगास मन्दिर, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, जगन्नाथ मन्दिर, ईश्वरी गंगाधाम, सिगास गाउँपालिकामा रहेको सिगास मन्दिर, शिवनाथमा रहेको शिवनाथ मन्दिरमा श्रावणको महिनाभरी दर्शनार्थीहरुले दर्शन गर्न गर्दछन् । 

श्रावण महिनाभरी मन्दिरमा राती जाग्राम बस्ने र बत्ती बाल्ने चलन रही आएको छ । जिल्लाबाट बसाइसरेकाहरु पनि मन्दिरमा पूजापाठ गर्नका लागि यो महिना जिल्ला भित्रिने गर्दछन् ।

जिल्लाको रौलाकेदार धाममा यो महिना पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको स्थानीय रामबहादुर महराले बताए । उनले भने ‘आजदेखि रौलाकेदारमा दर्शन गर्न जानेहरुको घुइँचो लाग्न थालेको छ । अगाध श्रद्धास्थल भएकाले दर्शनार्थीहरु रौलाकेदार पुग्ने गरेका छन् ।’

यस्तै जिल्लाको सिगास गाउँपालिकास्थित सिगासधुरा धाममा पनि श्रावण महिनामा दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । भगवान शिवको बासस्थानको रुपमा सिगासधुरालाई लिने गरिएको छ । सिगासधुराको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको स्थानीय जनकसिंह धामीले बताए । उनले भने ‘प्रमुख धार्मिक सम्पदा मध्ये सिगासधुरा धाम पनि एक हो । यो महिना सिगासधुराको दर्शन गर्नेहरु पुग्ने गर्दछन् । सिगासधुराको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।’ 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update