Sagun Khabar
आत्महत्याका घटना बढ्दै 

बैतडी –बैतडीमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । विभिन्न कारणले आत्महत्याका घटना बढ्दै गएका प्रहरीको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक बर्षको अहिलेसम्म २४ जनाले आत्महत्या गरिसकेका छन् । 

चालु आर्थिक बर्षमा २ जनाले बिष सेवन गरेर आत्महत्या गरेका छन् भने २२ जनाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक बर्षमा १० पुरुष, ११ महिला, ३ बालिका र १ बालक गरी २५ जनाले आत्महत्या गरेका थिए । ती मध्ये ४ जनाले बिष सेवन गरेर आत्महत्या गरेका थिए भने २१ जनाले झुण्डिएर आत्महत्या गरेका थिए । 

आर्थिक बर्ष २०७८÷७९ मा ३६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । आर्थिक बर्ष २०७८÷७९ मा २० पुरुष, ८ महिला, ४ बालक र ४ बालिकाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ ।  

यस्तै आर्थिक बर्ष २०७७÷७८ मा २० पुरुष, १७ महिला, २ बालक र ४ बालिका गरी ४३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ ।

आत्महत्या गर्नेहरु मध्ये अधिकांशमा कुनै न कुनै रुपमा मानसिक समस्या रहेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक केसीले बताए । उनले भने ‘आत्महत्याका घटनाहरुमा हामीले बुझ्दै जाँदा उनीहरुमा कुनै न कुनै मानसिक समस्या रहेको पाएका छौं । तनाव लगायतका कारणले आत्महत्याका घटनाहरु बढीरहेका छन् ।’

आत्महत्या गर्नेमा किशोरावस्थाका मानिसहरु समेत रहेकाले उनीहरुमा विभिन्न खालका मानसिक समस्या रहेको पाइएको प्रहरी निरीक्षक केसीले बताए । आफ्ना बालबालिकाहरुको बानी व्यवहारका बिषयमा अभिभावकहरुले समेत ख्याल राख्नुपर्नेमा उनले जोड दिए । 

आत्महत्याका घटना मानसिक समस्यासंगै सम्बन्धित रहेकाले यो बिषयमा सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक पृथ्वीराज अवस्थीले जोड दिए । 
 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update