बैतडी–बैतडीमा अशक्त नागरिकलाई घरमै नागरिकता वितरण कार्य शुरु गरिएको छ । ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम अन्तर्गत नागरिकता वितरण कार्य शुरु गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् ।
जिल्ला प्रशासन कार्यालयमा आउन नसक्ने अपाङ्गता भएका र वृद्धवृद्धालाई घरमै गएर नागरिकता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।
सोही कार्यक्रमअनुसार गएको बिहीबार जिल्लाको दशरथचन्द नगरपालिका–६ की ‘क’ वर्गकी मानसिक अपाङ्गता भएकी अस्मिता पन्तलाई घरमै गएर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।
जिल्ला प्रशासन कार्यालयमा आएर नागरिकता लिन नसक्नेहरुको विवरण पठाउन स्थानीय तहहरुलाई यसअघि नै आग्रह गरिसकिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् । प्रशासनमा प्राप्त विवरण अनुसार पन्तलाई घरमै गएर नागरिकता वितरण गरिएको उनले बताइन् ।
अहिलेसम्म जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाले अशक्त÷अपांगता भएका नागरिकहरुको विवरण प्रशासन कार्यालयमा पठाएको सहायक प्रमुख जिल्ला अधिकारी भोजलाल थारुले बताए ।
स्थानीय तहहरुबाट प्राप्त विवरण अनुसार सबैभन्दा बढी २६ जना डिलाशैनी गाउँपालिकामा अशक्त÷अपांगता भएका नागरिक रहेका छन् । उनीहरुलाई नागरिकता वितरणका लागि प्रक्रिया शुरु गरिसकिएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ ।
यस्तै दशरथचन्द नगरपालिकामा चार जनामध्ये एक जनालाई नागरिकता वितरण गरिसकिएको छ । बाँकी तीन जनालाई पनि घरमै गएर नागरिकता दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै पाटन नगरपालिकामा पाँच जना अशक्त ÷अपांग रहेका छन् भने पुर्चौंडी नगरपालिकामा नागरिकता नभएका अशक्त ÷अपांग नागरिक नरहेका बताइएको छ ।
जिल्लाका अन्य स्थानीय तहहरुलाई पनि यथाशक्य चाँडो विवरण उपलब्ध गराउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थारुले बताए ।
बैतडीमा पाँच वर्षपछि जिल्ला प्रशासनबाट अशक्त नागरिकको घरमै गएर नागरिकता दिन थालिएको हो ।
मानसिक अपाङ्गता भएकी छोरीलाई जिल्ला प्रशासनमा लैजान नसकेर अहिलेसम्म नागरिकता बनाउन नसकेको अस्मिताकी आमा कमला पन्तले बताइन् । छोरीको नागरिकता घरमै पाउँदा खुसी लागेको उनले बताइन् ।




