Sagun Khabar
सुदूर पहाडमा मकै छर्ने चटारो 

बैतडी–बैतडीसहित सुदूर पहाडका जिल्लाहरुमा मकै छर्ने चटारो शुरु भएको छ । बर्षा भएसंगै मकै छर्ने चटारो शुरु भएको किसानहरुले बताएका छन् । बर्खेबालीमध्ये मुख्य खाद्यबालीको रुपमा रहेको मकै छर्ने कार्य शुरु भएको दार्चुलाको शैल्यशिखरका विष्णुदत्त जोशीले बताए । 

लामो समयको खडेरीपछि मकै छर्ने समयमा बर्षा भएकाले मकै छर्ने कार्य शुरु भएको सुर्नया ६ का केशवराज अवस्थीले बताए । मध्यपहाडी क्षेत्रमा मकै छर्ने समय शुरु भइसकेको पाटन नगरपालिकाको कृषि शाखामा कार्यरत प्राविधिक सहायक महेश अवस्थीले बताए । मध्यपहाडी क्षेत्रमा वैशाख अन्तिम सातादेखि जेठ पहिलो सातासम्म मकै छर्ने गरेको उनले बताए । 

Atrya hospital

खेतबारी राम्रोसंग खनजोत गरेर मकै छर्नुपर्नेमा प्राविधिक सहायक अवस्थीले जोड दिए । प्रांगरिक मलको प्रयोग वृद्धि गर्दै उन्नतको जातको बीउ लगाएमा उत्पादनमा वृद्धि हुने अवस्थीले बताए । उनले भने ‘मकै खेती गर्दा मल र बीउको प्रयोगमा ध्यान दिनुपर्छ । जमीनलाई राम्रोसंग खनजोत गरेर मकै छर्न उपयुक्त हुन्छ ।’

मकै छर्ने समयमा बर्षा भएकाले मकैबाली छर्न सहज भएको दशरथचन्द नगरपालिका १ का किसान कृष्णदत्त भट्टले बताए । जिल्लाका सबै जसो ठाउँमा मकै छर्ने चटारो बढेको उनले बताए । 

बैतडीसहित दार्चुला,डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुराका ग्रामीण क्षेत्रमा मकै छर्ने चटारो बढेको किसानहरुले बताएका छन् ।

बैतडीमा मात्रै १४ हजार ५ सय हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update