बैतडी-जिल्ला प्रशासन कार्यालय बैतडीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरूको बैठक सम्पन्न भएको छ ।
बैठकले सर्वसाधारणलाई सहज, सरल र पारदर्शी रूपमा सूचना पहुँच पु¥याउने उद्देश्यले विभिन्न चारवटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ । सोमवार बसेको बैठकका निर्णय अनुसार जिल्लाका सबै सरकारी कार्यालयहरूले आफ्ना नियमित काम, गतिविधि तथा कार्यक्रमहरूको विवरण अनिवार्य रूपमा आफ्ना आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुपर्नेछ ।
यसैगरी, ऐन बमोजिम हरेक तीन तीन महिनामा प्रकाशन गरिने स्वतः प्रकाशन (सूचनाको हक सम्बन्धी प्रतिवेदन) लाई अझ बढी प्रभावकारी र स्तरीय बनाउने निर्णय भएको छ । सूचना प्रविधिको प्रयोगलाई व्यवस्थित गर्न सबै कार्यालयहरूले आगामी एक हप्ताभित्र आफ्ना वेबसाइटहरू पूर्ण रूपमा अद्यावधिक गरिसक्नुपर्नेछ ।
बैठकले सूचना प्रवाहको अवस्था र निर्णय कार्यान्वयनको नियमित अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ’सूचना अनुगमन उपसमिति’ समेत गठन गर्ने निर्णय गरेको छ । यस उपसमितिले जिल्लाका सरकारी निकायहरूले गर्ने सूचना प्रवाह र पारदर्शिताको निरन्तर निगरानी गर्नेछ ।




