Sagun Khabar
बैतडीमा चितुवाले आक्रमण गर्दा एक महिला घाइते 

बैतडी –बैतडीमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् । जिल्लाको मेलौली नगरपालिका –८ कोटीगाउँ डफन्नाकी ३२ बर्षीया भानु बिष्ट शुक्रबार दिउँसो साढेतीन बजेतिर घर नजिकै चितुवाको आक्रमणमा परेर घाइते भएकी हुन् । 

चितुवाको आक्रमणबाट भानुको तिघ्रामा तीनओटा घाउ भएको उनकी छोरी पुष्पा बिष्टले बताइन् । घाइते महिलाको केशरपुर प्राथमिक स्वास्थ्य मेलौलीमा उपचार गरिएको छ । घाइते महिलालाई रेबिजविरुद्धको खोप लगाएको र अवस्था खतरामुक्त रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए । 

Atrya hospital

शुक्रबार दिउँसो गाउँकै विशालपुर सहकारीमा बचत गर्न जाँदा बाटोमा ढुकेर बसेको चितुवाले आमामाथि आक्रमण गरेको घाइते महिला भानु विष्टकी छोरी पुष्पाले बताइन् । उनले भनिन् ‘आमालाई बाटोमा ढुकेर बसेको चितुवाले आक्रमण गरेछ । पछि कोलाहल गर्दा र गोठलाहरु पनि आएपछि चितुवा भागेको रहेछ ।’

बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवा र मानवबिच द्वन्द्व बढेपछि मेलौली नगरपालिकामा राष्ट्रिय प्रकृति संरक्षण कोषले मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न सहअस्तित्व अभियान सञ्चालन गरिरहेको छ । अभियानले मेलौली नगरपालिका–९, विशालपुरका स्थानीयलाई बेसारखेती र बाख्रा पालन गरेर वैकल्पिक जीविकोपार्जनका लागि ३६ लाख रुपैयाँ  सहयोग गरेको छ ।

चितुवाले तल्लोस्वराड क्षेत्र मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा २०६८ सालदेखि हालसम्म २८ जनाले ज्यान लिइसकेको छ । आक्रमणमा परि २० जनाभन्दा बढी घाइते भएका छन् । मानवले थापेको पासोमा २९ वटा चितुवाको पनि मृत्यु भएको छ ।
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update