
कञ्चनपुर –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शहीदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मोतियाबस्ती पुगेका अध्यक्ष प्रचण्डले आज शहीद परिवार सम्मान कार्यक्रममा ‘एक शहीद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने बताए ।
अध्यक्ष प्रचण्डले शहीद र बेपत्ता योद्धा परिवारप्रतिको जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने दाबी गरे । शहीदले सत्मार्गमा लाग्ने प्रण गर्दै उनले शहीद परिवारका सदस्यलाई पार्टीले उच्च स्थानमा राखेको बताए ।
जनताको बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन नसक्ने बताए । त्यस अवसरमा उनले शहीद परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।