
बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले १७ ओटा सुरक्षित प्रसूती सेवा केन्द्रमार्फत सेवा दिन थालेपछि घरमा हुने सुत्केरी शून्य भएको छ ।
गाउँपालिकामा जनप्रतिनिधि आएपछि हरेक वडामा आवश्यकता अनुसार सुरक्षित प्रसूती सेवा केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । २०७४ साल यता गाउँपालिकाका हरेक वडामा सुरक्षित प्रसूती सेवा केन्द्र सञ्चालनमा ल्याइएका उनले बताए ।
शिवनाथ गाउँपालिकाका ६ ओटा वडामा १७ ओटा प्रसूती सेवा केन्द्रहरु सञ्चालनमा रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । गाउँपालिकामा रहेका स्वास्थ्य संस्था र स्वास्थ्य संस्था बाहिर पनि प्रसूती सेवा केन्द्र सञ्चालनमा रहेका उनले बताए ।
शिवनाथ गाउँपालिकाको वडा नं १ मा ३, वडा नं २ मा ३, वडा नं ३ मा २, वडा नं ४ मा ३, वडा नं ५ मा ३ र वडा नं ६ मा तीनओटा प्रसूती सेवा केन्द्रहरु रहेका प्रमुख प्रशासकीय अधिकृत महताले बताए ।
स्वास्थ्य संस्थाभन्दा टाढा रहेका बस्तीहरुलाई लक्षित गरेर प्रसूती सेवा केन्द्र सञ्चालनमा ल्याइएका छन् भने स्वास्थ्य संस्थाहरुमा पनि चौबिसै घण्टा सुरक्षित प्रसूती सेवा सञ्चालनमा रहेको गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत देवराज न्यौपानेले बताए ।
प्रत्येक बस्ती र वडामा सुरक्षित प्रसूती सेवा प्राप्त भएपछि शिवनाथ गाउँपालिकामा घरमा हुने सुत्केरी शून्य भएको न्यौपानेले बताए । वडा नं ३ लाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरिसकिएको छ भने अन्य वडाहरुलाई पनि घरमा हुने सुत्केरी शून्य वडा घोषणाको तयारी भइरहेको बताइएको छ ।
गाउँपालिकाले चालु आर्थिक बर्षमा स्वास्थ्य क्षेत्रमा झण्डै २ करोड रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष साउँदले बताए । उनले भने, ‘हामीले हरेक बर्ष स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छौं । आगामी बजेटमा पनि हामी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नेछौं ।’
वडा र बस्तीहरुमा सुरक्षित प्रसूती सेवा केन्द्रमार्फत सेवा विस्तार भएपछि मातृ मृत्युु र शिशु मृत्यु पनि शून्यमा झरेको प्रमुख प्रशासकीय अधिकृत महताले बताए । उनले भने, ‘अहिले स्वास्थ्य संस्थामा गएर गर्भजाँच गर्नेहरुको संख्या बढ्दै गएको छ । केही जटीलता भएमा सुविधासम्पन्न अस्पतालमा रेफर गर्ने गरिएको छ । यसले मातृ मृत्यु र शिशु मृत्यु पनि कम भएको छ ।’
गाउँपालिकाभित्र रहेका सुरक्षित प्रसूती सेवा केन्द्र र स्वास्थ्य संस्थाहरुबाट एक बर्षको अवधिमा झण्डै चार सय जना महिलाले सेवा लिएका प्रमुख प्रशासकीय अधिकृत महताले बताए । सुरक्षित प्रसूती सेवा केन्द्रहरुबाट अन्य आधारभूत स्वास्थ्य सेवा पनि प्रदान भइरहेको उनले बताए ।