बैतडी –बैतडीको मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ ।
यही कार्तिक १८ गते मंगलबार र १९ गते बुधबारका दिन दुवै पालिकाले स्थानीय सार्वजनिक बिदा दिएका हुन् ।
मेलौली नगरपालिकाले मेलौली भगवती मन्दिरमा लाग्ने देहीजातको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको जनाएको छ । जात्रामा स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गरेर दुई दिन सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।
सार्वजनिक बिदाका दिन नगरपालिकाभित्रका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने नगरपालिकाले जनाएको छ ।
मेलौली भगवती मन्दिरमा यही कार्तिक १८ र १९ गते भव्य जात्रा लाग्दैछ । यो मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ ।
यस्तै शिवनाथ गाउँपालिकाले देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा मंगलबार र बुधबार सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ । जात्रामा स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गर्दै बिदा दिएको गाउँपालिकाले जनाएको छ ।
देहीगडा भगवती मन्दिरमा पनि कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमका दिन जात्रा लाग्ने गर्दछ । यो बर्ष कार्तिक १८ र १९ गते जात्रा परेकाले सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ ।
उक्त दिन गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने गाउँपालिकाले जनाएको छ ।





