Sagun Khabar
सुर्नयामा तालाबन्दी प्रकरण : सर्वदलीय परामर्श बैठक सम्पन्न 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा गरिएको तालाबन्दीको समस्या समाधानका लागि सर्वदलीय परामर्श बैठक सम्पन्न गरिएको छ । 

आइतबार सम्पन्न भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, रापप्रा लगायतका दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

सुर्नया गाउँपालिकामा विभिन्न माग राख्दै जेनजी समूहकातर्फबाट गएको असोज २४ गते तालाबन्दी गरिएको थियो । लामो समयसम्म तालाबन्दी नखुलेपछि समस्या समाधानका लागि सर्वदलीय परामर्श बैठकको आयोजना गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

वार्ता र सम्वादबाटै समस्याको समाधान गर्न आफूहरुले पालिका सरकारलाई आग्रह गरेको बैठकमा सहभागी नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टले बताए । जेनजी समूहले उठाएका मागहरु सम्बोधनका लागि कार्यपालिकाबाट निर्णय गरेर सहमतिको बाटो खोज्न आग्रह गरिएको उनले बताए । उनले भने, ‘हरेक समस्याको समाधान वार्ता र छलफलबाटै हुने भएकाले हामीले स्थानीय सरकारलाई जेनजी समूह र अन्य सरोकारवालाहरुले उठाएका माग सम्बोधन गरेर ताला खोल्ने वातावरण बनाउन आग्रह गरेका छौं । सबै पक्षलाई जिम्मेवार हुन पनि आग्रह गरेका छौं ।’

बैठकमा सहभागी एमाले नेता नरेन्द्र बिष्टले सुर्नया गाउँपालिकामा देखिएको समस्या समाधानका लागि तालाबन्दी गर्ने पक्षसँग वार्ता गर्न र उनीहरुका जायज मागलाई सम्बोधन गरेर अघि बढ्न सुझाव दिएको बताए । उनले भने, ‘लामो समयदेखि तालाबन्दी हुँदा सेवाग्राही मारमा छन् । यो अवस्थाको अन्त्य गर्न कार्यपालिका बैठक बसेर निकास निकाल्न आग्रह गरेका छौं ।’

तालाबन्दी खोल्ने वातावरण सिर्जना गर्नुपर्ने र यसमा आफूहरुले गर्न सक्ने सहयोग गर्ने सुझाव पालिका सरकारलाई दिएको माओवादी केन्द्र सुर्नयाका बरिष्ठ उपाध्यक्ष दिलाराम भट्टले बताए । तालाबन्दी गर्ने पक्षका जायज मागहरुलाई सम्बोधन गरेर समस्याको समाधान निकाल्न आफूहरुले सुझाव दिएको उनले बताए । 

गाउँपालिकाको कार्यपालिकामा विवाद रहेकै कारण समस्या बल्झिएको भन्दै कार्यपालिका एकमत भएर निर्णय गर्नुपर्ने सुझाव राखेको राप्रपाका उपाध्यक्ष देवबहादुर चन्दले बताए । तालाबन्दी गर्ने समूहमा आफू पनि भएकाले राखिएका मागहरु पूरा गर्नुपर्ने उनले बताए । उनले भने ‘केही दिन पहिला तयार भएका ९ ओटा सहमतिका बुँदामा समेत कार्यपालिका एक हुन सकेको छैन् । यस्तो अवस्थामा हामीले कसरी विश्वस्त हुने ? विश्वस्त हुने आधार तय भए तालाबन्दी खोल्न तयार छौं ।’

सुर्नया गाउँपालिकामा गएको असोज २४ गतेदेखि गरिएको तालाबन्दी जारी रहेको छ । गाउँपालिकामा तालाबन्दी हुँदा गाउँपालिकाका कामकाज ठप्प भएका छन् भने सेवाग्राही मारमा परेका छन् । 

गाउँपालिकामा गरिएको तालाबन्दी समस्या समाधानका लागि मंगलबार कार्यपालिका बैठक बोलाएको र चाँडै समस्याको समाधान हुनेमा आफू विश्वस्त रहेको गाउँपालिका अध्यक्ष कुँवरले बताए । सबै पक्षसँग सम्वाद गरेर समस्याको समाधान गर्ने उनले बताएका छन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update