Sagun Khabar
१५ दिन अघि नै भित्रियो मनसुन

 काठमाण्डौ – यसवर्षको मनसुन मध्य जेठमै नेपाल भित्रिएको छ । सरदर भन्दा १५ दिन अगाडि नै मनसुन नेपाल भित्रिएको हो । गएराति पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको र कोशी प्रदेशका धेरैजसो भागमा फैलिसकेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन भित्रिएसँगै कोशीका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा पनि भएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख अर्थात् यसवर्ष जेठ ३० गते हो । तर मध्य जेठमै मनसुन नेपाल प्रवेश गरेको हो । नेपालका अन्य भागमा मनसुनको प्रभाव विस्तार हुन अझै केहीदिन लाग्ने महाशाखाले जनाएको छ ।

अहिले देशका बाँकी भागमा पश्चिमी र स्थानीय वायूको प्रभाव छ । यो वर्ष सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण छ । यस वर्षको मनसुनबाट २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । बङ्गालको खाडीबाट आएको हावाको बहावले बोकेर ल्याएको मौसमी प्रभावबाट बन्ने मनसुन सामान्यतया मे ३१ तारिखमा भारतको केरला आइपुग्छ तर भारतको मौसम विभागका अनुसार दक्षिणी केरला राज्यमा सरदर एक हप्ताअगावै मनसुन भित्रिएको थियो ।

भारतमा औसत समयभन्दा अगावै मनसुन प्रवेश गरकाले नेपालमा पनि चाँडै मनसुन शुरु भएको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । मनसुन प्रवेशसँगै गर्मी केही घट्नेछ । मुख्यबाली धानसहित अन्य खेतीबालीका लागि मनसुन महत्त्वपूर्ण छ । तर यसवर्षको प्रक्षेपणअनुसार नेपालमा औसतभन्दा बढी वर्षा र उच्च गर्मीको सम्भावना छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन र क्षतिको आँकलन अनुसार पूर्वतयारी थालेको जनाएको छ । जल तथा मौसम पूर्वाअनुमान महाशाखाले मनसुनमा हुनसक्ने सम्भावित क्षतिबाट जोगिन आवश्यक तयारी गर्न र सर्तकता अपनाउन अनुरोध समेत गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update