Sagun Khabar
सामाजिक सद्भावको पर्व गौरा 

बैतडी –सुदूरपश्चिमको मुख्य पर्व गौरा शुरु भएको छ । यो पर्व सुदूरपश्चिमका साथसाथै भारतको कुमाउ गढवालसम्म मनाइने गरिन्छ । गौरालाई सामाजिक सद्भावको पर्वको रुपमा पनि लिइन्छ । गौरा पर्व बिरुडापञ्चमीदेखि शुरु दुर्वाष्टमी अर्थात अठ्यावलीको दिन सकिने गर्दछ । गौरामा बिशेष गरेर शिव पार्वतीको पूजा गर्ने चलन रही आएको छ । खास गरेर यो पर्वको सम्बन्ध कैशाल पर्वतसंग रहेको संस्कृतिका जानकार आचार्य घनश्याम लेखक बताउँछन् । उनि भन्छन् ‘मानसखण्ड भूमिमा धेरै किसिमका मौलिक संस्कृतिहरु रहेका छन् । ती मध्ये गौरापर्व पनि एक हो । यसमा शिव र पार्वतीको उपासना गर्ने गरिन्छ । यो पर्वमा खास गरेर महिलाहरुले ब्रत बसेर पूजा गर्ने चलन रही आएको छ ।’

गौरामा विवाहित महिलाले ब्रत बसी शिव र पार्वतीको पूजाआजा गर्ने गर्दछन् । शिवपार्वतीको जीवनगाथासंग जोडिएका फाग गाएर स्तुती गर्ने यो पर्वको बिशेषता हो । 

बिरुडापञ्चमी : गौरापर्वको मुख्य दिनको रुपमा बिरुडापञ्चमीलाई पनि लिइन्छ । विवाहित महिलाहरुले पञ्चमीकै दिनदेखि ब्रत बस्न शुरु गर्दछन् । कुनै बर्ष भाद्र शुक्ल पञ्चमी र कुनै बर्ष भाद्र कृष्ण पञ्चमीका दिन बिरुडा पञ्चमी पर्ने गर्दछ । यो बर्षको गौरा कृष्ण पक्षमा परेको छ ।  बिरुडामा पाँच प्रकार अन्न मिसाउने गरिन्छ । गहत, गुराउँस,केराउ, मास र गहुँ मिसाएर पञ्चबिरुडी बनाउने चलन रही आएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

बिरुडापञ्चमीको दिन यी पाँच प्रकारका अन्नलाई मिसाएर तामाको भाँडामा भिजाउने चलन रही आएको छ । बिरुडा भिजाउने बेलामा पनि फाग गाउने गरेको सुर्नया गाउँपालिकाकी हरिना अवस्थीले बताइन् । उनले भनिन् ‘गौराको शुरुवात श्रावणमा पर्ने गौरे एकदशीबाट भएपनि मुख्य रुपमा बिरुडापञ्चमीबाटै शुरु भएको मानिन्छ । यो दिन सबै ब्रतालु महिलाहरुले आ आफ्ना घरमा बिरुडा भिजाउने गर्दछन् । सबैले एक ठाउँमा बसेर फाग समेत गाउने गर्दछन् । 
‘गौत गुरौस,गहुँ रे मास त कलौ बिरुडी नाइब पाया’ जस्ता फागहरु गाएर बिरुडा पञ्चमीको दिन बिरुडा भिजाउने चलन रही आएको छ । 

षष्ठी(नानीगोरा) : बिरुडा पञ्चमीको भोली पल्ट षष्ठीको दिन ब्रतालु महिलाहरु बिहानै नुवाई धुवाई  गरेर नजिक धारा,कुवा तथा तलाउमा जमा हुने गर्दछन् । त्यो ठाउँमा खेतबाट साँवाको बोट,अपामार्ग लगायतका चीजहरु ल्याएर गौराको प्रतिमूर्ती बनाइ बिरुडाले पूजा गर्ने चलन छ । पञ्चमीका दिन भिजाएका बिरुडालाई धुने चलन समेत रही आएको छ । 

अमुक्ताभरण सप्तमी : यो दिन ब्रतालु महिलाहरुले गौराघरमा गौरालाई भित्र्याउने गर्दछन् । ब्रतालु महिलाहरु साँझको समयमा एक ठाउँमा जम्मा भएर खेतबाट साँवाको बोटा, अपामार्ग लगायत मिलाएर गौराको प्रतिमूर्ती स्थापित गर्ने गर्दछन् । त्यो दिन गौरासंगै महेश्वर पनि स्थापित गरेर पूजा गर्ने चलन रही आएको छ । ब्रतालु महिलाहरु आफ्ना खेतबारी फलेका फलफूल सहित गौराको पूजा गर्न जाने गर्दछन् ।

दुर्वाष्टमीका दिन लगाउने बिशेष प्रकारको धागो (दुबधागो) पनि सप्तमीकै दिन गौरामा चढाउने चलन छ । यो दिन गौरालाई आफूहरुले विभिन्न फाग गराएर आसन ग्रहण गर्न आग्रह गर्ने गरेको हरिना अवस्थीले बताइन् । उनले भनिन् ‘लिपि घसी द्यौ रुडी द्यौ पाड गौरादेवी आसन बस भनेर सबै देवीदेवताहरुलाई बस्न आग्रह गर्ने फागहरु गाउने गर्दछौं । गौरा र महेश्वरलाई आसन ग्रहण गराएपछि गौराको पूजाआजका साथै कुण्ड स्नान समेत गर्ने गर्दछौं ।’

कुण्डस्नान गर्ने बेलामा ब्रतालु महिलाहरुलाई गौरादेवीले चिताएको फल दिन्छिन् भन्ने जनविश्वास छ । कुण्डस्नान गर्ने बेला बिशेष मन्त्रोच्चारण गरिने पण्डित विष्णुदत्त पन्तले बताए । सप्तमीकै दिन गौरा र महेश्वरको बिहेको प्रसंग समेत महिलाहरुले फाग मार्फत झल्काउने गरेका छन् । गौरामा गाइने फागकी जानकार हरिना अवस्थी भन्छिन् ‘गौरामा गाइने फागमा गौरी(पार्वती) र महेश्वर (शिव)को उत्पत्तिदेखि लिएर उनीहरुले सृष्टिको रचना गरेको कुरा सम्म समेटेको पाइन्छ । यो कतै लेखेको हुँदैन तर सुनेकै भरमा पिँढीदर पिंढी हस्तान्तरण हुँदै जान्छ ।’

दुर्वाष्टमी(अठ्यावाली) : गौराको मुख्य दिनको रुपमा दुर्वाष्टमी अर्थात अठ्यावालीको दिनलाई मानिन्छ । यो दिन बिहानै ब्रतालु महिलाहरुले नुवाईधुवाई गरेर सप्तमीका दिन गौरा स्थापना गरेको गौरा घरमा जाने गर्दछन् । गौरा घरमा सप्तमीका दिन स्थापना गरिएको गौरालाई श्रृंगारपटार गरी सजाएर गौरा खलामा लग्ने गरिन्छ । गौरा र महेश्वरलाई ब्रतालु महिलाहरुले टाउकोमा राखेर खेलाउँदै विभिन्न फाग गाउँदै गौराखलामा लग्ने चलन छ । गौरालाई गौराखलामा पुर्याएपछि ब्रतालु महिलाहरुले फाग गाउँदै बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौराको पूजा गर्ने चलन रही आएको छ । अठ्यावालीका दिन गौराको उत्पत्ति, महेश्वरको उत्पत्ति, गौरा महेश्वरको बिहे लगायतका कुराहरु फागमै अटाएका हुन्छन् । दिनभरी ब्रतालु महिलाहरुले उभिएर फाग गाउँदै बिरुडाले गौराको पूजा गर्ने चलन छ । 

अठ्यावालीका दिन फल प्रसाद पाइसकेपछि ब्रतालु महिलाहरुले सप्तमीका दिन गौराका चढाएको बिशेष प्रकारको धागो (दुबधागो)लाई आफ्नो घाँटीमा लगाउने गर्दछन् । तागाधारी पुरुषहरुले जनेउ धारण गरेजस्तै सुदूरका महिलाहरुले गौराका दिन दुबधागो लगाउने गर्दछन् । यसका साथै बिरुडाले आफ्ना आफन्तजनको टाउको पुज्ने गर्दछन् । 

अठ्यावालीका दिन ब्रतालु महिलाहरुले गौराको पूजा गरिसकेपछि पुरुषहरुले विभिन्न प्रकारका ठाडोखेल, ढुस्को,धमारी खेल्ने गर्दछन् । यी खेलहरुमा इतिहास समेटेको पाइन्छ । ठाउँ अनुसार ठाडोखेल,ढुस्को, धमारी फरक फरक हुने गरेका छन् । कतिपय ठाउँमा देवीदेवताको गाथामा आधारित खेलहरु खेल्छन् भने कतिपय ठाउँमा बीरपुरुषहरुको इतिहासका बारेमा खेल खेल्ने गरेका छन् । यी इतिहासहरु अलिखित भएकाले मेटिदै जाने सम्भावना बढेको महाकाली साहित्य संगम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारी बताउँछन् । भन्छन् ‘गौराका समयमा गाइने ठाडोखेल,ढुस्को,धमारीमा इतिहास समेटिएको हुन्छ तर नयाँ पुस्ताले यसमा चाँसो नदिएकाले हराउने सम्भावना छ ।’

अठ्यावाली अर्थात दुर्वाष्टमीको दिन पछि उपयुक्त दिन हेरेर गौराालाई समापन गर्ने गरिन्छ । ज्योतिषहरुले दिएको दिनमा अमुक्ताभरण सप्तमीको दिन स्थापना गरिएको गौरालाई नजिकका मठमन्दिरमा लगेर समापन गर्ने गरिन्छ । त्यो दिन पनि ब्रतालु महिलाहरुले फाग गाएर गौरालाई माइत पुर्याएको भन्ने गरिन्छ । ‘उपरी भदौकी रञ्झङिलो मु माइत बोलाया रञ्झङिलो’ भनेर फाग गाउने गरिन्छ ।  

पारिवारिक सम्बन्ध जोड्ने पर्व 
सदियौंदेखि मनाइदै आएको गौरा पर्वलाई सुदूरपश्चिमेलीहरुले सामाजिक सद्भाव र पारिवारिक सद्भावको पर्वको रुपमा लिन्छन् । बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ शंकरपुरका विष्णुदत्त अवस्थी तराई झरेको ३ दशक हुन लागेको छ । उनको परिवार, बसाई, रोजगारी सबै कुरा तराईंमै छ । तर उनी प्रत्येक बर्षको भाद्र महिनामा पहाड उक्लने गर्दछन् । भन्छन् ‘सकभर प्रत्येक बर्ष नभए तेश्रो बर्ष गौराका लागि पहाड आउने गर्दछु । गौरापर्वले हामी तराई झरेकाहरुलाई समेत पहाडसंग जोडेको छ । गौराकै समयमा पहाडमा बस्नका लागि भनेर हामीले घर बेचेका छैनौं । जन्मभूमीप्रतिको सम्बन्धलाई बलियो बनाउन गौरापर्वले भूमिका खेलेको छ । तराई झरेका हामीहरुलाई पहाड बसेका प्रत्येक आफन्तहरुसंगको भेट यस पर्वले गराउँछ ।’

सुर्नया गाउँपालिका ६ शंकरपुरमै जन्मेका रघुनाथ अवस्थी पनि अचेल तराई बस्छन् । तर प्रत्येक बर्ष गौराका लागि पहाड पुग्ने गर्दछन् । भन्छन् ‘गौरापर्व हामीलाई एकआपसमा जोड्ने पर्व हो । तराई झरेपछि पहाड भुलेकाहरुलाई सम्झन् बाध्य पार्ने पर्व हो गौरा । हामी गौराका लागि सकेसम्म हरेक बर्ष पहाड आउने गर्दछौ । यसले एकैठाउँमा जन्मेका मानिसहरुलाई जन्मेको ठाउँको विकासका लागि घच्घच्याउने गर्दछ ।’

गौरा पर्वकै लागि तराइबाट पहाड पुगेको गणेशदत्त अवस्थीले पनि गौरा पर्वले सबैलाई नजिक ल्याउने काम गरेको बताए । उनले भने ‘गौराको अन्तिम दिन महिलाहरुले आउँदो भदौमा भेट्ने बाँचा फाग मार्फत गर्छन् । यसले गर्दा गौराका लागि पहाड पुग्नु भनेको आफ्नो मातृभूमीप्रतिको माया पनि हो ।’

मूलघर पहाड भई पछि तराई झरेकाहरु गौराका लागि पहाड फर्कने गर्दछन् । पहाडमा आफ्ना पुख्र्यौली घरमा गौराको बेला उनीहरु बस्ने गर्दछन् । यसले मातृभूमी प्रतिको मायालाई अझै प्रगाढ बनाउने संस्कृतिका जानकार नारद अवस्थी बताउँछन् । भन्छन् ‘गौरा पर्व जोड्ने पर्व नै हो । यसमा प्रसादको रुपमा भिजाइने बिरुडामा ५ प्रकारका अन्न मिसाउँछन् । यसले पनि जोड्ने कुरासंग सम्बन्ध राख्दछ । अलग अलग अन्न मिसाउने कुराले हामी विविध धर्म संस्कृतिका मानिसलाई एकै ठाउँमा उन्ने पर्वको रुपमा यसलाई मान्न सकिन्छ ।’ 

गौरापर्वमा महिलाहरुले बिशेष प्रकारको धागो दुबधागो लगाउने गर्दछन् । यसलाई पनि गौराको मुख्य दिन अठ्यावालीको अघिल्लो दिन झुक्को बनाएर गौराको प्रतिमूर्तीमा चढाइन्छ । गौरामा जति पनि महिलाहरुले दुबधागो लगाउँछन् उनीहरु सबै दुबधागोलाई गौराको प्रतिमूर्तीमा सामूहिक रुपमा चढाइने गरिन्छ । यसले पनि गौरालाई सबैलाई मिलाउने अर्थात सम्बन्ध विस्तार गर्ने पर्वको रुपमा लिनुपर्ने हुन्छ । 

मानिसहरु आ आफ्ना काममा व्यस्त भएका बेला भेट हुन नसक्ने अवस्था रहन्छ । तर गौरापर्वमा सबै मानिस एकै ठाउँमा जमा हुने भएकाले उनीहरुले भलासुकाली समेत गर्न भ्याउछन् । गौरामा गाइन् ड्यौडागीतले पनि यो कुरा झझल्को दिने गर्दछ । जस्तै खनखन खाँकर बज्या साइपकी घोडीका, बाँचीर्या अम्मर होइर्या हमरी जोडीका ( अर्थ ः हामी गौरामा भेट भएकाहरुको सदैव यसरी भेट भइरहोस) भन्ने खालका गीतहरु प्रस्तुत हुने गर्दछन् । ग्रामीण क्षेत्रका महिलाहरु अन्य समयमा काममा हुने भएकाले गौराको समयमा भेटघाट हुने सुर्नया ५ रौलेश्वरका जानकी चन्द बताउँछिन् । उनी भन्छिन् ‘गौरा पर्व हाम्रो सद्भावको पर्व हो । यस पर्वमा सामूहिक रुपमा पूजा गर्ने चलन छ । यो चलनले हामीलाई सामूहिक रुपमा बस्नुपर्छ भन्ने कुरा सिकाएको छ ।’

गौरापर्वमा खेलिने ठाडो खेल,ढुस्को, धमारी र ड्यौडा खेलमा सबैजना एकआपसमा मिलेर खेल्ने गर्दछन् । यसमा सहभागिताका लागि कसैलाई पनि रोकटोक हुँदैन । यसले समाजमा रहेको जातीय भेदभावलाई न्यूनीकरणका लागि सहयोग गरेको छ । सदियौंदेखिको यो पर्वले जातीय भेदभाग गर्नु हुँदैन भन्ने कुरा सिकाएको छ । रौलेश्वर माविका प्राचार्य गणेशदत्त अवस्थी भन्छन् ‘जातीय भेदभाव गनुहुँदैन भन्ने कुरा गौरापर्वले सिकाएको छ । यसको प्रचारप्रसार गर्न सकियो भने जातीय भेदभाव न्यूनीकरण गर्न सकिन्छ ।’

गौरापर्व सद्भावकै पर्व भएकाले घरबाट टाढा रहेकाहरु पनि घरमा फर्कने गर्दछन् । बर्षको एकपटक मनाइने यो पर्वको धार्मिक र सांस्कृतिक महत्व जति छ त्यत्तिकै सामाजिक महत्व पनि रहेको छ । यो पर्वले बर्षौं भेट हुन नसक्नेहरुलाई पनि भेटघाट गराउँछ । दुःखसुख साट्ने वातावरण मिलाउँछ । त्यसैले पनि यसको महत्व रहेको दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष भुवन भटट् बताउँछन् । उनि भन्छन् ‘हामी जनप्रतितिनिधिहरुका विभिन्न काम मध्येको एउटा काम सामाजिक सद्भाव कायम राख्नु पनि हो । गौरा जस्ता पर्वको सामाजिक महत्वलाई हामीले संरक्षण गर्न सके सामाजिक सद्भाव कायम राख्न सकिन्छ ।’

पहाडसंग गौरा पर्वको सम्बन्ध 
गौरा पर्वमा खास गरेर भगवान शिव र पार्वतीको पूजा गरिन्छ । महादेवलाई स्वामी पाउनका लागि राजा हिमालयकी छोरी पार्वतीले तपस्या गरेको प्रसंग उल्लेख छ । कैलाश पर्वतमै बसेर पार्वतीले तपस्या गरेको हुनाले पहाड र हिमालसंग गौरापर्वको साइनो जोडिएको जानकार बताउँछन् । गौरापर्व नेपालमा मात्रै नभएर भारतकोे कुमाउ गढवाल क्षेत्रसम्म मनाइन्छ । यसै पर्वका कारण भारतसंग रोटीबेटीको सम्बन्ध गाँसिएको कतिपयको ठहर छ । बैतडीको दशरथचन्द नगरपालिका त्रिपुरा गणेशसिंह थापा भन्छन् ‘सीमावर्ती भारतीय क्षेत्रमा हाम्रो बिहेबारी चल्नु भनेको सांस्कृति सामिप्यता नै हो । यिनै विविध संस्कृतिका कारण भारतसंग हाम्रो रोटीबेटीको सम्बन्ध रहेको छ ।’ 

मौलिकता हराउने चिन्ता 
सुदूरपश्चिममा मनाइने विभिन्न चाडपर्व मध्ये गौरा एक सांस्कृति पर्व हो । यसलाई सद्भावको पर्व भन्दा अत्युक्ति नहोला । यो पर्वमा गाउँभरीका मानिस एकै ठाउँमा जमा भएर देवीदेवताको पूजाआजा मात्रै गर्दैनन् सबैसंग भलाकुसारी गर्न पनि भ्याउँछन् । संस्कृतिका जानकार आचार्य घनश्याम लेखक भन्छन् ‘मानसखण्ड पर्वतमा मनाइने गौराको बिषयमा वेदमा उल्लेख गरिएको छ । कैलाश पर्वत,मानसखण्ड पर्वतसंग जोडिएको सांस्कृतिक पर्व हो गौरा ।’

गौराका समयमा नयाँ लुगा लगाउने, मिठोमसिनो खाने चलन पहिलादेखिको हो । रोजगारीका लागि परदेश गएकाहरु समेत यो पर्वका लागि घर आउने गर्दछन् । तर पछिल्लो समयमा गौरापर्वको मुख्य आकर्षणका रुपमा फाग,ठाडोखेल,ढुस्को,धमारीहरु लोप हुने अवस्थामा पुगेका छन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update