
बैतडी–बैतडीको पाटनस्थित बसपार्कमा स्थानीयले विरोध स्वरुप धान रोपाइँ गरेका छन् ।
लामो समयदेखि बसपार्क निर्माण कार्य अलपत्र परेपछि आइतबार राष्ट्रिय धान दिवसका दिन स्थानीयले हलगोरू जोतेर बसपार्कमा रोपाइँ गरेका हुन् । पाटन बजार व्यवस्थापन समितिको अगुवाइमा सरोकारवाला निकायहरुलाई दबाब दिन बसपार्कमा रोपाइँ गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्टले बताए ।
नयाँ शहर आयोजना अन्तर्गत निर्माण भइरहेको बसपार्कले गएको १० बर्ष यतादेखि पूर्णता पाउन सकेको छैन् । लामो समय भइसक्दा समेत बसपार्क निर्माण कार्यलाई पूर्णता दिन कसैले चासो नदेखाएपछि बसपार्कमा धान रोपाइँ गरेको अध्यक्ष भट्टले बताए ।
बसपार्क निर्माणका लागि सरोकारवाला निकाय र सरकारलाई पटक–पटक आग्रह गर्दा समेत नसुनेपछि शान्तिपूर्ण विरोधस्वरुप धान रोपाइँ गरेको अध्यक्ष भट्टले बताए ।
आर्थिक वर्ष २०७१÷७२ सालमा निर्माण शुरु गरिएको बसपार्क निर्माण कार्य अहिलेसम्म पूरा हुन सकेको छैन् ।
पाटन क्षेत्रमा सवारी साधनको चापलाई ध्यानमा राखेर बसपार्क निर्माण कार्य अघि बढाइएको भएपनि अझैसम्म पूरा नहुँदा स्थानीयबासी आक्रोशित भएका छन् ।
पाटनमा आठवटा बस र चारवटा जिप एकैपटक पार्किङ गर्नसक्ने क्षमताको बसपार्क निर्माणको काम अलपत्र पर्दा समस्या छ ।
पाटन बसपार्कमा निर्माणमा अहिलेसम्म १ करोड ८० लाख जति खर्च भइसकेको नयाँ शहर आयोजनाका प्रमुख रुद्रनारायण दासले बताए । पछिल्लो समयमा थोर–थोरै बजेट आएका कारणले निर्माण कार्य समयमै सम्पन्न हुन नसकेको उनको भनाइ छ । आयोजनाकातर्फबाट गर्नुपर्ने काम अन्तिम चरणमा रहेको र केही दिनभित्र नगरपालिकालाई हस्तान्तरण गरिने उनले बताए ।