
कञ्चनपुर –गृहमन्त्री रमेश लेखकले महाकाली नदी किनारका बस्ती जोगाउन ठूलो वर्षा हुनुअघि नै बाँध निर्माण गर्नेगरी नेपाली सेनालाई जिम्मा दिइएको बताएका छन् ।
आज कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन बाँधको अनुगमन गर्दै उनले बाढीका कारण वर्षौदेखि नदी किनारका नागरिकले भोग्दै आएका समस्या समाधानका लागि सरकारले विशेष निर्णय गरेर सेनालाई जिम्मा दिएको बताए ।
गत वर्ष महाकालीको बाढीले दुई सय ६० मिटर बाँध भत्काएपछि महाकाली नदी बस्तीतर्फ सोझिएको थियो । यसले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका विभिन्न बस्ती जोखिममा परेपछि सरकारले उक्त क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर काम अघि बढाएको हो ।
गृहमन्त्री लेखकले महाकाली नदीका कारण चारलेन पुल र बस्ती नै जाखिममा परेपछि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको बाँध निर्माणको जिम्मा सेनालाई दिइएको बताए ।
गृहमन्त्री लेखकले निर्माण कार्यमा संलग्न टोलीलाई निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशनसमेत दिए । गत जेठ ६ गतेको निर्णयअनुसार सेनालाई एक महिनामा बाँध निर्माण गर्ने गरी जिम्मेवारी दिइएको थियो ।