
बैतडी–बैतडीको दुर्गम सिगास गाउँपालिकाको वडा नं ४ स्थित आधारभूत स्वास्थ्य केन्द्र कन्धारमा कार्यरत अनमी जानकी पूजाराले कृत्रिम सास दिएर एक नवजात शिशुको ज्यान जोगाएकी छन् ।
यही साउन ८ गते राति साढे ९ बजेको समयमा सोही ठाउँकी लक्ष्मी धामीले नवजात शिशुको जन्म दिएकी थिइन् । उक्त शिशु निस्सासिएपछि लगातार ८ घण्टा मुखबाट सास दिएर बचाएको अनमी पूजाराले बताइन् ।
शिशु जन्मेपछि उसलाई सास फेर्न समस्या भएको र रातिको समयमा अन्यत्र लैजान समेत सम्भव नभएपछि कृत्रिम सास दिएर नवजात शिशुको ज्यान जोगाएको अनमी पूजाराले बताइन् ।
राति ९ बजेर ३३ मिनेटदेखि बिहान ४ बजेसम्म कृत्रिम सास दिएर शिशुको ज्यान जोगाउन सफल भएको उनको भनाइ छ ।
आधारभूत स्वास्थ्य केन्द्रमा एम्बुबेग मात्रै रहेको र त्यो पनि साइज नमिल्ने भएपछि मुखले नै शिशुलाई कृत्रिम सास दिएको उनको भनाइ छ ।
निस्सासिएको शिशुको ज्यान जोगाउन अक्सिजन, सक्सन मेसिन लगायतका उपकरणको आवश्यकता हुने भएपनि आधारभूत स्वास्थ्य केन्द्रमा ती कुनै पनि उपकरण नहुँदा कृत्रिम सास दिएर शिशुको ज्यान जोगाउन सफल भएको उनले बताइन् ।
अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था समान्य रहेको पनि अनमी पूजाराले बताइन् । सुत्केरी भेटघाटका लागि आफू आइतबार धामीको घरमा पुगेको उनले बताइन् । उनले भनिन्,‘ सुत्केरी भेटघाटका लागि म आइतबार मात्रै सुत्केरी धामीको घरमा पुगे । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था समान्य रहेको छ । अहिले मलाई निकै खुसी लागेको छ ।’
नवजात शिशुलाई कृत्रिम सास दिएर बचाएको भिडियो सामाजिक सञ्जालमा राखेपछि अहिले अनमी पू्जाराको चौतर्फी प्रशंसा भएको छ । उनले आफूले आफ्नो कर्तव्य पूरा गरेको प्रतिक्रिया दिएकी छन् । नवजात शिशुको ज्यान जोगाउन पाउँदा निकै खुसी लागेको उनले बताइन् ।
आधारभूत स्वास्थ्य संस्थाहरुमा आधारभूत उपकरणको मात्रै व्यवस्थापन गर्न सके स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सकिने उनको धारणा छ । दुर्गमका स्वास्थ्य संस्थाहरुमा उपकरणको अभाव रहेको छ । उनले भनिन् ‘मैले भिडियो शेयर गरेपछि धेरै ठाउँबाट फोन आएको छ । मैले स्वास्थ्यकर्मीको नाताले आफ्नो कर्तव्य पूरा गरेकी हुँ । नवजात शिशुको ज्यान जोगिएकोमा धेरै खुसी लागेको छ । तर दुर्गमका संस्थाहरुमा आधारभूत उपकरणको व्यवस्थापन गर्न सके सबैलाई सहज हुन्छ ।’