बैतडी- बैतडीमा सञ्चालित १६ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुर्चौडी नगरपालिकाले जितेको छ । कुल २८ पदकसहित पुर्चौडीले पहिलो स्थान हासिल गर्दै उपाधि हात पारेको हो । प्रतियोगितामा १२ स्वर्ण, ९ रजत र ७ कास्य गरी कुल २८ पदकसहित पुर्चौडी नगरपालिकाले जितेको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले बताए ।
प्रतियोगितामा सिगास गाउँपालिका ९ स्वर्ण, ५ रजत र ७ कास्य गरी २१ पदकसहित उपविजेता बनेको जोशीले बताए । यस्तै, ५ स्वर्ण, ९ रजत र ८ कास्यसहित २२ पदक जित्दै दोगडाकेदार तेस्रो स्थानमा रहेको हो ।
चौथो स्थानमा मेलौली नगरपालिका (५ स्वर्ण, ६ रजत, ८ कास्य – १९ पदक), पाँचौं स्थानमा दशरथचन्द नगरपालिका (५ स्वर्ण, २ रजत, ६ कास्य – १३ पदक), छैटौं स्थानमा डिलाशैनी गाउँपालिका (१ स्वर्ण, ३ रजत, १ कास्य – ५ पदक) रहेका छन् ।
त्यसैगरी, सातौं स्थानमा सुर्नया गाउँपालिका (१ स्वर्ण, २ रजत, २ कास्य – ५ पदक), आठौं स्थानमा पाटन नगरपालिका (१ स्वर्ण, १ रजत – २ पदक), नवौं स्थानमा शिवनाथ गाउँपालिका (२ रजत, २ कास्य – ४ पदक) र अन्तिम स्थानमा पञ्चेश्वर गाउँपालिका (१ कास्य) रहेको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टिमलाई मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ ।
बैशाख ७ गतेदेखि सुरु भएको प्रतियोगिता दशरथचन्द नगरपालिका–०२ देहिमाण्डौंस्थित निङ्लाशैनी खेलमैदानमा सञ्चालन गरिएको थियो ।
उत्कृष्ट खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरिने जिल्ला खेलकुद समिति अध्यक्ष भुपेन्द्र चन्दले बताए ।





