
बैतडी - बडादशैंअन्तर्गत टीकाको तेस्रो दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतिक रातो टीका र जमरा लगाउने क्रम जारी छ। आश्विन शुक्ल द्वादशीका दिन पनि मान्यजनका घरमा गएर नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो।
नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ। मान्यजन टाढाटाढा हुने आफन्त आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन्।
पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र टीका र जमरा लगाउने प्रचलन रहेको छ। मौसम विभागले भारी वर्षासँगै सडक अवरुद्ध हुने भएकाले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न सुझाव दिएको छ।