Sagun Khabar
देशभर मेघगर्जनसहित मध्यम वर्षा ,सुदूरपश्चिममा पनि जोखिम

बैतडी - मौसम पुर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको प्रभाव देखिएको छ। प्रदेशका धेरै स्थानमा बादल लाग्ने र कतिपय स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ।कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा, लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने र मधेश, बागमती तथा गण्डकी प्रदेशका केही भूभागमा धेरै भारी वर्षा हुने अनुमान गरिएको छ। विशेषगरी पहाडी जिल्लाहरूमा पहिरो र बाढीको जोखिम उच्च रहने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

तराईका भागमा पनि निरन्तर झरी पर्ने भएकाले नदी-नालामा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभावले देशभर वर्षाको असर देखिएको छ । काठमाडौँमा रातभर निरन्तर झरी परेपछि अहिले खोलानालामा पानीको बहाव बढेको छ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update