Sagun Khabar
बैतडी अस्पतालमा हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ सेवा पुनः सुचारु 

बैतडी –जिल्ला अस्पताल बैतडीमा हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ सेवा पुनः सुचारु भएको छ । 

जिल्ला अस्पातलमा हाडजोर्नी तथा नसा रोग बिशेषज्ञको रुपमा डा. दिपेन्द्र भण्डारी हाजिर भएसँगै उक्त सेवा पुनः सुचारु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशील विकले बताए । हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ नहुँदा केही महिना अवरुद्ध भएको सेवा शुक्रबारदेखि फेरि सञ्चालनमा आएको उनले बताए । 

हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ आएसँगै हात खुट्टा भाँचिएको प्लास्टर तथा अप्रेशन सेवा जिल्ला अस्पतालबाटै प्राप्त हुने डा. विकले बताए । 

यस्तै ढाड तथा कम्मर दुख्ने समस्या, घुँडा दुख्ने तथा सुन्निने समस्या, नशा च्यापिएको तथा नशा कमजोर भएको समस्याको उपचार हुने जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले बताए । 

यस्तै पैताला र पाता पोल्ने समस्या, जन्मजात हातखुट्टा बांगो भएको उपचार, दुर्घटना वा प्लास्टरपछि भएको हड्डी सम्बन्धी समस्याको उपचार र सबै प्रकारका हाडजोर्नी तथा नशा सम्बन्धी समस्याको उपचार जिल्ला अस्पतालमै हुने उनले बताए । 

जिल्ला अस्पतालमा हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ आएसँगै हाडजोर्नी र नशासम्बन्धी सामान्य समस्याका लागि पनि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ । 

जिल्ला अस्पातलमा अहिले तीन जना बिशेषज्ञसहित दश जना चिकित्सकले सेवा दिइरहेको अस्पातलका प्रमुख डा. विकले बताए । अस्पतालमा जनरल फिजिसियन डा.पविन उपाध्याय, हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा. दिपेन्द्र भण्डारी र स्त्री रोग बिशेषज्ञ डा. रामकुमार यादव गरेर तीन जना बिशेषज्ञले सेवा दिइरहेका उनले बताए । 

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  ०८:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update