बंगलादेशको अदालतले शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ। 'मानवता विरुद्धको अपराध' मुद्दामा हसिनालाई दोषी ठहर गर्दै अदालतले हसिनालाई मृत्युदण्डको सजायको फैसला सुनाएको हो।
सोमबार बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिनालाई मानवता विरुद्धको अपराधको दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो। हसिनामाथि गत वर्ष जुलाई-अगस्टमा भएको विद्रोहको क्रममा मानवता विरुद्धको अपराधको आरोप लगाइएको थियो। उनी हाल भारतमा निर्वासनमा बस्दै आएकी छन्। फैसला टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।
अभियोजन पक्षले जुन महिनामा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा हसिनासहित तीनजनाविरुद्ध पाँचवटा आरोप लगाउँदै मुद्दा दायर गरेको थियो। यसै आधारमा, न्यायाधिकरणले हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमलविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।
गत वर्ष बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन दबाउन तत्कालीन प्रधानमन्त्री हसिनाले राज्यका सुरक्षा निकायलाई बल प्रयोग गर्न निर्देशन दिएको अदालतको ठहर छ
न्यायाधीश गुलाम मुर्तजा नेतृत्वको तीन सदस्यीय इजलासले प्रदर्शन दबाउन हसिनाले बम र घातक हतियार प्रयोग गर्न आदेश दिएको ठहर गरेको छ। उनले ड्रोन, हेलिकोप्टर र घातक हतियारहरूको प्रयोगको आदेश दिएर मानवता विरुद्धको अर्को अपराध गरेको अदालतले ठहर गरेको छ।
अभियोजन पक्षले हसिना र असदुज्जमान खान कमलविरुद्ध अधिकतम सजाय अर्थात् मृत्युदण्डको माग गरेको थियो।




