Sagun Khabar
बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एकजना यात्रुको मृत्यु, तीन जना घाइते 

बैतडी –बैतडीमा गुडिरहेको बसमा सडक माथिबाट ढुंगा खस्दा एकजना यात्रुको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ८ झौलेकमा गुडिरहेको बसमा सडकमाथिबाट खसेको ढुंगा लागेर बसमा सवार बझाङको थलारा गाउँपालिका वडा नं ५ का १८ बर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

महेन्द्रनगरबाट बझाङका लागि छुटेको सु.प.प्र.२००१ ख ११५६ नम्बरको बसमा मंगलबार बिहान साढे दुईबजेतिर जयपृथ्वी राजमार्ग अन्तर्गत खोड्पे–बझाङ सडकखण्डको झौलेकमा सडकमाथिबाट ढुंगा खसेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

ढुंगा लागेर अन्य तीन जना घाइते भएका प्रहरी निरीक्षक खड्काले बताए । घाइते हुनेमा बझाङको जयपृथ्वी नगरपालिका वडा नं ११ का ४० बर्षीय हरिप्रसाद जोशी, सोही ठाउँका ३६ बर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका वडा नं ४ का २८ बर्षीय माधव भट्ट रहेका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

गुडिरहेको बसमा सडकमाथिबाट खसेको ठूलो ढुंगा बसभित्र पसेको बताइएको छ । घटनाका बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update