बैतडी – कपडा बैंक बैतडीले ‘हुनेले दिने, नहुँनेले लैजाने’ अभियान शुरु गरेपछि यहाँका दुई हजारभन्दा बढी गरिब विपन्न नागरिकले निःशुल्क रुपमा न्यानो लुगा पाएका छन् । यी मध्ये ११ वटा विद्यालयका ५६० जना विद्यार्थीले न्यानो लुगा, कम्बल र शैक्षिक सामग्रीसमेत पाएका छन् ।
बैतडीका युवा महेशदत्त भट्टको अगुवाइमा ‘हुनेले दिने, नहुँनेले लैजाने’ अभियानअन्तर्गत दुई ठाउँमा कपडा बैंक स्थापना भएको छ । जिल्ला सदरमुकाम शाहीलेक र मेलौली नगरपालिकामा स्थापना भएको कपडा बैंकबाट जिल्लाका गरिब, विपन्न र टुहुरा बालबालिकाले निःशुल्क रुपमा न्यानो लुगा पाउन थालेका छन् । यो अभियानबाट एकल महिला र अनाथ बालबालिका र हलिया समुदायका व्यक्ति बढी लाभान्वित भएका छन् ।
हुनेले दिने नहुँनेले लैजाने अभियानमा अहिलेसम्म एक सय जनाले सहयोग गरेका छन् । यो वर्षको हिउँदमा मात्रै करिब तीन सय जनाले न्यानो लुगा, कम्बल, विद्यालय पोशाक, झोला र शैक्षिक सामग्री पाएको अभियन्ता भट्टले बताए ।
गत वर्षदेखि सुरु भएको यो अभियानलाई देश, विदेशमा बस्ने मनकारी नेपालीले सहयोग गर्दै आएका छन् ।
बैतडी पुगेका बेला वर्तमान शिक्षा मन्त्री महावीर पुनलेसमेत अभियानलाई सहयोग गरेका भट्टले बताए । पुनले गत वर्ष विभिन्न कार्यक्रममा पाएका दोसल्लाहरु कपडा बैंकलाई प्रदान गरेको अभियान्ता भट्टले बताए ।
गरिब तथा विपन्न नागरिकले कपडा बैंकमै पुगेर न्यानो लुगा लैजाने गरेका छन् भने विद्यार्थीलाई विद्यालयमै पुगेर लुगा वितरण गर्दै आएको कपडा बैंकका परिचालक नारद भट्टले बताए । दाताहरुबाट नगद रकमको सट्टा लुगा किनेरै दान दिन आग्रह गर्ने गरिएको छ ।
अभियानलाई विभिन्न व्यक्तिले जन्मदिन मनाउने खर्चबाट कपडा किनेर अभियानलाई सहयोग गर्दै आएका छन् । हुनेले दिन थालेपछि दुःख, अभाव र गरिबी भोगीरहेकालाई ठुलो राहत पुगेको छ । सहयोग गर्ने दाताको नामावली अद्यावधिक गरेर माघ १ गते कपडा बैंक स्थापनाको दिन पारेर सार्वजनिक गरिने बताइएको छ ।
जिल्लाका विभिन्न स्थानमा रहेका विद्यालयहरुमा आँफै पुगेर गरिब विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गर्र्ने गरेको अभियान्ता भट्टले बताए । यसले बालबालिकाहरुलाई केही सहज भएको उनले बताए ।




