Sagun Khabar
बैतडीको दोगडाकेदारले छोरी जन्माउने आमालाई थप २ हजार प्रोत्साहन भत्ता दिँदै 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई दिने प्रोत्साहन भत्तामा वृद्धि गरेको छ । गएको तीन बर्ष यता छोरी जन्माउने आमालाई एक हजार थप प्रोत्साहन भत्ता दिँदै आएकोमा यो बर्षदेखि दुई हजार भत्ता दिने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । 

छोरी जन्माउने आमालाई समाजमा हुने विभेद नहोस भनेर थप प्रोत्साहन भत्ताको व्यवस्था गरिएको उनले बताइन् । उनले भनिन् ‘हाम्रो समाजमा अझै पनि छोरी जन्मिए विभेद गर्ने चलन कायमै छ । त्यो विभेद कम होस भनेर हामीले यो कार्यक्रम सञ्चालनमा ल्याएका हौं ।’

स्वास्थ्य सन्देश
Atrya hospital

छोरी जन्माउने आमालाई पालिकाका तर्फबाट थप प्रोत्साहन भत्ता दिने गरिएको उपाध्यक्ष कार्कीले बताइन् । छोरीको महत्वका बिषयमा समाजलाई जागरुक गराउन र सुत्केरी आमाको पोषणस्थितीमा सुधार ल्याउनका लागि सहयोग होस भनेर यो कार्यक्रम सञ्चालनमा ल्याइएको उनले बताइन् । 

यसले समाजमा छोरीमाथि हुने गरेको विभेद अन्त्यका लागि समेत सहयोग गर्ने पालिकाले विश्वास गरेको उनले बताइन् । छोरी जन्माउने आमालाई थप प्रोत्साहन भत्ता दिन शुरु गरेपछि आमाहरु समेत खुसी भएका छन् । 

दोगडाकेदार गाउँपालिकाले गत आर्थिक बर्षमा छोरी जन्माउने २४० आमालाई थप प्रोत्साहन भत्ता वितरण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । 
 

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update