कञ्चनपुर –पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि बेदकोट नगरपालिका–८ मा रहेको आफ्नो पुर्खौली घर पुगेका छन् ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आन्दोलनकारीले उनको पुर्खौली घरमा आगजनी गरी पूर्ण रूपमा नष्ट गरेका थिए । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका नेपाली कांग्रेसका नेता लेखकले जलेको घरको अवस्थाबारे स्थलगत जानकारी लिएका हुन् ।
काठमाडौँको नैकापमा रहेको घर र बेदकोट–८ स्थित पुर्खौली घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । हाल महेन्द्रनगरस्थित बजार क्षेत्रमा रहेको घर मर्मत गरी उनी त्यहीँ बसोबास गरिरहेका छन् ।
पुर्खौली घर पुगेपछि लेखकले पहिलो पटक स्थानीयवासीसँग भेटघाट समेत गरेका छन् । भेटघाटका क्रममा स्थानीयले गाउँमा भइरहेको सडक पूर्वाधारलगायत विकासका विषयमा जानकारी गराए । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट २०७९ सालको निर्वाचन जितेर गृहमन्त्री बनेका लेखक यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छैनन् ।




