दार्चुला –दार्चुलाको सामुदायिक प्रहरी सेवा केन्द्र बङ्गाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्यामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
सोमबार राति हत्या गरिएका घर्तीको शव मंगलबार बिहान फेला परेको थियो । घटना लगत्तै प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको थियो । दिपिका फर्सवान, मानमती आउजी र एक जना नाबालकलाई मंगलबार दिउँसो पक्राउ गरेको प्रहरीले थप एकजनालाई मंगलबार राति पक्राउ गरेको थियो । हत्यामा संलग्न रहेको आरोपमा राजेन्द्र डडाललाई नौगाडको होपरीगाडबाट मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए ।
यस्तै हत्यामै संलग्न रहेको आरोपमा आशिष पाललाई आज दुहुँ गाउँपालिकाको जंगलबाट पक्राउ गरिएको प्रहरी निरीक्षक भट्टले बताए । पक्राउ परेका पाँचै जनामाथि अनुसन्धान भइरहेको उनले बताए ।
घटनामा अन्यको संलग्नताका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टले बताए ।
मृतक प्रहरी हवलदार घर्तीको शव पोष्टमार्टमपछि अन्तिम दाहसंस्कार गरिएको जनाइएको छ ।




