Sagun Khabar
बैतडीमा चुनावी सरगर्मी बढ्दै, कसले मार्ला बाजी ?

बैतडी–प्रतिनिधि सभा सदस्यका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा चुनावी सरगर्मी बढ्दै गएको छ । प्रतिनिधि सभा सदस्यका लागि ११ जना उम्मेदवार रहेका भएपनि मुख्य दलहरुबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । 

बैतडीमा नेकपा एमालेकातर्फबाट लगातार तीन पटक चुनाव जितेका पूर्व मन्त्री दामोदर भण्डारी चुनावी मैदानमा छन् भने नेपाली कांग्रेसका तर्फबाट कांग्रेस जिल्ला सभापति समेत रहेका नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द चुनावी मैदानमा रहेका छन् । 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट परमानन्द भट्ट उम्मेदवार रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हरिमोहन भण्डारीलाई उम्मेदवार बनाएको छ । राप्रपाले भुपेनबहादुर चन्दलाई उम्मेदवार बनाएर चुनावी अभियान अगाडि बढाइरहेको छ । 

बैतडीमा दुई ठूला दलका उम्मेदवारहरुले आफ्नै पूर्व सहकर्मीसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको छ । 

एमाले बैतडीका संस्थापक नेता एवं पूर्व जिविस सभापति परमानन्द भट्ट अहिले नेकपाबाट चुनावी मैदानमा छन् । उनले एमालेका केही मतदाताहरुलाई प्रभाव पार्न सक्ने आँकलन गरिएको छ । 

अर्कोतिर रास्वपाका उम्मेदवार हरिमोहन भण्डारीको विगत राजनीति नेपाली कांग्रेससँग गाँसिएकाले कांग्रेसका केही मतदाताहरुलाई उनले पनि प्रभाव पार्न सक्ने आँकलन गरिएको छ । २०७९ सालको प्रदेश सभा सदस्य निर्वाचनमा भण्डारीले कांग्रेसबाट टिकट नपाएपछि विद्रोह गरेका थिए । त्यो बेला उनले कांग्रेसका आधिकारिक उम्मेदवार बिरबहादुर बिष्टको भन्दा बढी मत प्राप्त गरेका थिए । 

प्रमुख दलका उम्मेदवारहरु अहिले घरदैलो अभियानमा व्यस्त रहेका छन् । यो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि आफ्नो पुरानो विरासत फर्काउने सोच बनाएको छ । विगतको चुनावभन्दा जसरी पनि मत बढाउने अभियानमा राप्रपा रहेको छ । राप्रपा विगतकै मतका आधारमा समेत अहिलेको चुनावको मुख्य प्रतिस्पर्धी रहेको राप्रपाका युवा संगठन सचिव महेशसिंह मालले बताए । प्रष्ट अडानसहित राप्रपा चुनावी मैदानमा रहेकाले जित हासिल गर्ने उनले दाबी गरेका छन् ।  

चुनावको मिति नजिकिदै गर्दा एमाले,कांग्रेस, रास्वपा, नेकपा र राप्रपाले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । 

लगातार बैतडीमा तीन पटक चुनाव जितेका दामोदर भण्डारी चौथो जितको खोजीमा लागि रहेका छन् । यता नेपाली कांग्रेस बैतडीमा आफ्नो पुरानो साख फर्काउने दाउमा रहेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई चुनावी मैदानमा उतारेको कांग्रेसले चुनाव जित्ने दाबा गरिरहेको छ । 

यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीले चुनाव जित्न कुनै समस्या नरहेको बताएका छन् । उनले मुख्य दलका उम्मेदवारहरुलाई टक्कर दिइरहेका छन् । प्रदेश सभा सदस्य लागि स्वतन्त्र उम्मेदवार हुँँदा समेत ११ हजार भन्दा बढी मत ल्याएका भण्डारी यो चुनावमा आफ्नो जित निश्चित रहेको दाबी गरिरहेका छन् । 

२०७९ सालको निर्वाचनमा माओवादी केन्द्रसँगको गठनबन्धनका कारणले कांग्रेसले टिकट पाएको थिएन् । आफ्ना मतदाताहरुले रुख चिन्हमा भोट हाल्ने अवसर पाएकाले यो निर्वाचनमा कांग्रेस जित्ने कुरामा कुनै शंका नरहेको कांग्रेसका उपसभापति बिरबहादुर बिष्टले बताए । नेपाली कांग्रेस बैतडीमा बलियो रहेको र एकतासहित चुनावी मैदानमा उत्रेको उनले बताए । 

बैतडीबाट एमालेले लगातार तीन पटक चुनाव जितेको,चार पटक मन्त्री पाएको भएपनि देखिने काम गर्न नसकेको आरोप लाग्दै आएको छ । बैतडीबासीले अपेक्षा गरे अनुसारको विकास नभएकाले यो चुनावमा नेपाली कांग्रेसको जित हुने कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दको दाबी छ । नेपाली क्रिकेट क्षेत्रको विकासमा योगदानमा पुर्याएका चन्दले जनताले मत दिए बैतडीको विकास गर्ने दाबी गरिरहेका छन् । 

गएको निर्वाचनमा ३३ हजार बढी मत ल्याएर विजयी भएका एमाले उम्मेदवार दामोदर भण्डारीले आफ्नो जितलाई कायम राख्ने योजना बनाएका छन् । विगतका कामहरुलाई निरन्तरता दिन आफूले जित्ने उनको दाबी छ । 

जिल्लामा एमालेको जित कायम रहने एमाले केन्द्रीय सदस्य गोविन्द गिरीले बताए । यो लडाइँ देश बनाउने र बर्वाद पार्नेहरुबीचको लडाइँ भएकाले एमाले उम्मेदवारले जित्न कुनै समस्या नरहेको उनको दाबी छ । 

यस्तै नेकपा उम्मेदवार परमानन्द भट्टले विगतमा सरकारमा रहेका दलका प्रतिनिधिहरुले राम्रो काम गर्न नसकेकाले मतदाताहरुले नयाँ प्रतिनिधि खोजेको बताएका छन् । जिल्ला विकास समितिको सभापति रहेका बेला राम्रो छवि बनाएका भट्टलाई सबै क्षेत्रका मतदाताहरुले मत दिने नेकपाका नेताहरुको ठहर छ । 

परमानन्द भट्टको व्यक्तिगत स्वभावका कारण पनि धेरै मत पाउने नेकपाकै नेताहरुले बताइरहेका छन् । आफूलाई बैतडीका जनताले निर्वाचनमा जिताउने कुरामा आफू ढुक्क रहेको भट्टले बताएका छन् । 
कांग्रेस सचिव प्रेमबहादुर चन्दका अनुसार झण्डै एक दशकपछि कांग्रेसका कार्यकर्ताहरुले रुख चिन्हमा मत दिने वातावरण बनेकाले कांग्रेस उम्मेदवारलाई चुनाव जित्न सहज रहेको छ । घरदैलो अभियानबाट आफूहरु निकै उत्साहित भएको सचिव चन्दले बताए । 

जेनजी मुभमेन्टपछि जनताले नयाँपन र नयाँ पार्टी खोजेकाले रास्वपाका उम्मेदवार विजयी हुने कुरामा कुनै शंका नरहेको रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशीले बताए । बैतडीमा रास्वपाका बरिष्ठ नेता बालेन शाह आउँदाको उपस्थितीले समेत रास्वपा उम्मेदवार जित्ने कुरालाई सुनिश्चित गरेको जोशीको दाबी छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द छोरा भुपेनबहादुर चन्दलाई चुनावी मैदानमा उतारेर चुनावी प्रचारप्रसारमा जुटेको छ । राप्रपाका उम्मेदवार चन्द अभिनेता, पाइलट,इन्जिनियर हुँदै राजनीतिमा प्रवेश गरेका हुन् । यो चुनावमा मतदाताहरुले राप्रपालाई न्याय गर्ने राप्रपाका नेता देवबहादुर चन्दले दाबी गरेका छन् । 

बैतडीमा एक स्वतन्त्रसहित ११ जना चुनावी मैदानमा होमिएका छन् । नेकपा एमालेबाट  दामोदर भण्डारी, नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द, नेपाली कम्युनिष्ट पार्टीबाट परमानन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुपेनबहादुर चन्द, जनता समाजवादी पार्टी नेपालबाट आनसिंह भण्डारी, श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेय, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट रामबहादुर कुँवर, आम जनता पार्टीबाट बिसनसिंह बोहरा र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update