काठमाण्डौ – नेपाली कांग्रेसले आउँदो चुनावका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । आज जनकपुरमा आयोजित प्रतिज्ञासभामा सभापति गगनकुमार थापाले पार्टीको घोषणापत्रका रूपमा रहेको प्रतिज्ञापत्रको संक्षिप्त अंश सार्वजनिक गरेका हुन् ।
कांग्रेसले चुनावको घोषणापत्रलाई प्रतिज्ञापत्र नाम दिएको हो । प्रतिज्ञापत्रको विस्तृत अंश भने भोलि राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा सार्वजनिक गर्ने नेपाली कांग्रेसले जनाएको छ । भोलि हुने कार्यक्रममा सभापति थापाले घोषणापत्रमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम पनि रहेको छ ।
प्रतिज्ञापत्रमा कांग्रेसले युवाहरूका लागि स्वदेशमै मर्यादित र आकर्षक अवसर सिर्जना गर्ने, विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई मातृभूमिको पुनर्जागरणमा जोड्ने तथा लगानी र रोजगारी सिर्जनामा राज्यले साथ दिने वाचा गरेको छ ।
यस्तै किसान र कृषि क्षेत्रमा सिँचाइ र मलको अभाव अन्त्य गर्ने, बीमा र भन्सार नीतिमा सुधार गर्ने तथा नेपाली कृषि उत्पादनलाई विश्व बजारमा ब्रान्ड बनाउने प्रतिबद्धता व्यक्त गरेकोे छ ।
स्वास्थ्य क्षेत्रमा उपचारलाई नागरिकको मौलिक अधिकारका रूपमा मान्यता दिँदै विकसित देशको स्तरको स्वास्थ्य बीमा प्रणाली लागू गर्ने कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख छ ।
यस्तै प्राथमिकदेखि विश्वविद्यालयसम्मको शिक्षालाई प्रविधिसँग जोड्ने वाचा पनि कांग्रेसको छ । सुशासनका सन्दर्भमा दलीयकरणको अन्त्य गर्ने, ’डिजिटल नेपाल’ को अवधारणा साकार पार्दै भ्रष्टाचार र ढिलासुस्तीको जरैबाट अन्त्य गर्ने र नागरिकले घरमै बसेर सरकारी सेवा पाउने वातावरण बनाउने कांग्रेसको प्रतिबद्धता छ ।
परराष्ट्र नीतिका सम्बन्धमा नेपाललाई विश्व समुदायमा एक सार्वभौम, शान्त र स्वाभिमानी राष्ट्रका रूपमा स्थापित गर्ने तथा छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित राख्ने प्रतिज्ञा गरिएको छ ।




