Sagun Khabar
बैतडीको पञ्चेश्वरमा कांग्रेसको कार्यकर्ता भेला, सहमतिमै सभापतिको उम्मेद्वार छान्ने संस्थापन पक्षको दाबी 

बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिक आईरहेका बेला बैतडीमा पनि कांग्रेस नेता कार्यकर्ताहरुले विभिन्न ठाउँमा सभाको आयोजना गरिरहेका छन् । बैतडीमा कांग्रेसका दुवै धारले आ आफ्ना भेला र सभाको आयोजना गर्न लागेका हुन् । 

बैतडीको पञ्चेश्वरमा शनिबार संस्थापन पक्षले भेला सम्पन्न गरेको छ । नेपाली कांग्रेसको पञ्चेश्वर गाउँपालिका समितिले आयोजना गरेको भेलामा कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सो भेलामा नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री नरबहादुर चन्द, पूर्व पार्टी सभापति शिवराज भट्ट, महासमिति सदस्य केशवबहादुर चन्द, महासमिति सदस्य हरिमोहन भण्डारी, महासमिति सदस्य उत्तरबहादुर ऐर, जिल्ला सचिव बीरबहादुर बिष्ट लगायतको सहभागिता रहेको थियो । 

संस्थापन पक्षले सभापतिको उम्मेद्वार टुंगो लगाई नसकेका बेला आयोजना गरिएको सभामा नेताहरुले साझा उम्मेद्वार खडा गर्ने प्रतिबद्धता जनाएको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कपील केसीले जानकारी दिए । उनले भने ‘पञ्चेश्वर गाउँपालिकाको विभिन्न वडामा निर्वाचित भएका कांग्रेसका पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्नुका साथै कांग्रेसको भावी नेतृत्वका बिषयमा सभामा छलफल भएको छ ।’

संस्थापन पक्षबाट अहिले पूर्व पार्टी सभापति शिवराज भट्ट, जिल्ला सचिव बीरबहादुर बिष्ट, महासमिति सदस्य केशवबहादुर चन्द, पूर्व पार्टी उपसभापति हरिसिंह धामी, प्रताप ठगुन्ना लगायतले सभापतिमा आकांक्षा देखाएका छन् । सभापतिमा आकंक्षा देखाएका सबैले सहमतिबाटै एकजना छान्ने प्रतिबद्धता जनाएको केसीले बताए । 

बैतडीमा पौडेल समूहबाट वर्तमान उपसभापति चतुरबहादुर चन्दले सभापतिमा उम्मेद्वारी घोषणा गरेर प्रचारप्रसारमा लागि सकेका छन् । तर संस्थापन पक्षबाट धेरै आकांक्षी भएकाले अझै उम्मेद्वारको टुंगो लगाउन सकिएको छैन् । 
 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १९:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update