Sagun Khabar
बैतडीमा रास्वपाको उदय, हरिमोहन भण्डारीको संसदीय यात्रा शुरु 

बैतडी –बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय भएसँगै हरिमोहन भण्डारीको संसदीय यात्रा शुरु भएको छ । 

फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टीका भण्डारी विजयी भएसँगै उनको संसदीय यात्रा शुरु भएको हो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीति शुरु गरेका भण्डारीले नेपाली कांग्रेस हुँदै रास्वपामा प्रवेश गरेपछि जितको स्वाद चाखेका हुन् । २०७० सालदेखि निरन्तर रुपमा एमालेले जित्दै आएको यो क्षेत्रमा एमालेको किल्ला भत्काउँदै उनले संसदीय यात्रा शुरु गरेका हुन् । 

वि.स. २०२३ साल कात्तिक १५ गते बैतडीको पाटनमा जन्मिएका भण्डारीले स्नातक तहसम्मको शैक्षिक योग्यता हासिल गरेका छन् । उनका बुवा लक्ष्मणसिंह भण्डारी र आमा रत्ना भण्डारी हुन् । बुवा लक्ष्मणसिंह भण्डारीकै प्रेरणाले राजनीतिमा प्रवेश गरेको बताउने भण्डारीको राजनीतिक यात्रा वि.स. २०३५ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट शुरु भएको हो । उनका बुवा लक्ष्मणसिंह भण्डारी पनि राप्रपाको राजनीतिमा सक्रिय थिए । 

पञ्चायतकालमै राजनीतिमा सक्रिय रहेका भण्डारी वि.स. २०५८ सालमा नेपाली प्रजातान्त्रिक कांग्रेसको क्रियाशील सदस्य बने । त्यसपछि उनी तीन पटक पार्टीको महासमिति सदस्यसमेत बनेर संगठन निर्माणमा सक्रिय रहे । करिब २३ वर्ष नेपाली कांग्रेसको सक्रिय राजनीतिमा संलग्न रहेका भण्डारी पछिल्लो समयमा रास्वपामा प्रवेश गरेका हुन् । 

नेता–कार्यकर्तामाझ लोकप्रिय नेताको छवि बनाउन सफल रहेका भण्डारी कांग्रेसमा भने रहन सकेनन् । २०७४ सालको प्रदेश सभा निर्वाचनमा उनले कांग्रेसबाट टिकट पाएपनि उनी पराजित भएका थिए । 
२०७९ सालको प्रदेश सभा निर्वाचनमा उनलाई कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । त्यो बेला उनले कांग्रेसका आधिकारिक उम्मेदवार बिरबहादुर बिष्टको भन्दा बढी मत ल्याएका थिए । उनले २०७९ सालको प्रदेश सभा निर्वाचनमा ११ हजार १८ मत ल्याएका थिए । त्यो चुनावमा उनी नेकपा एमालेका सुरेन्द्रबहादुर पालसँग पराजित भएका थिए । २०७९ सालबाटै नेपाली कांग्रेसबाट बाहिरिएका भण्डारी यो चुनाव अघि राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएसँगै भण्डारीले बैतडीबाट विजयी यात्रामात्रै शुरु गरेका छैनन् उनले नेकपा एमाले र कांग्रेस जस्ता ठूला दलहरुलाई चुनौती समेत दिएका छन् । 

लामो राजनीतिक अनुभव, विभिन्न धारको राजनीति भोगेको पृष्ठभूमी र स्वतन्त्र राजनीतिप्रतिको आकर्षण बोकेका भण्डारी यसपटक नयाँ दलमार्फत संसद् प्रवेश गरेका छन् । उनले चुनावी प्रचारप्रसारको दौरानमा यहाँको समस्या संसदमा पुर्याउने बाँचा गरेका थिए । 

सामाजिक र सांस्कृतिक अभियानमा समेत सक्रिय रहेका भण्डारीले बेरोजगारी समस्या हल गर्नका लागि भरमग्दुर प्रयास गर्ने बताए । 
 

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update