Sagun Khabar
बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको मेला 

बैतडी–बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा भव्य मेला लागेको छ । हरेक बर्ष निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा पूजाआजा सहित जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवती मन्दिरमा अन्य जात्राको समयमा बलि हुने भएपनि यो जात्रा बलि नहुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए । 

तीन दिन अघिदेखि मेला शुरु भई पूर्णिमाको बिहान मेला सकिने बोहराले जानकारी दिनुभयो । यो मेलामा सोराड र बैतडी सदरमुकाम क्षेत्रबाट जात्रा आउने र त्यही नै जात्राको मुख्य आकर्षण रहेको अध्यक्ष बोहराले बताए । 

यो जात्रालाई स्थानीय भाषामा ठूली जात भन्ने चलन रही आएको छ । जात्राको अवसरमा ठाडो खेल, देउडा खेल लगायतका सांस्कृतिक खेलहरु पनि हुने गरेका छन् । अनन्त चतुर्दशीको मेला भाद्र शुक्ल त्रयोदशीबाट शुरु भएर पूर्णिमाका दिन सकिन्छ । यो मेलामा तिनरात मन्दिरमा जाग्राम बस्ने भक्तजनहरुको समेत घुइँचो लाग्ने गर्दछ । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update