Sagun Khabar
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा शपथ ग्रहण

काठमाण्डौ – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई शपथ गराएका हुन् । शाह आजै प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति पौडेलले शाहलाई नेपालको संविधानको धारा ७ को उपधारा १ बमोजिम नियुक्त गरेका हुन् । 

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू उपस्थित रहेका थिए । 

समारोहमा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालमा रहेका विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित रहेका थिए । 

प्रधानमन्त्रीको शपथ पहिलो पटक वैदिक–सनातन परम्परा भल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गरेका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहलाई हिजो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update