Sagun Khabar
अध्यक्ष ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाण्डौ – नेकपा एमालेले पूर्व प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । 

आज पार्टी कार्यालय च्यासल ललितपुरमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न मागसहित कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

बैठकपछि सचिव महेश बस्नेतले हरेक जिल्लाको सदरमुकाममा आज दिउँसो जनसंगठनको तर्फबाट विरोध प्रदर्शन गर्ने, भोलि जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउनेलगायतका निर्णय गरेको जानकारी दिए । साथै अन्य दलसँग पनि संवाद र सहकार्य गर्ने उनले बताए । 

यसैबीच पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको विरोधमा नेता÷कार्यकर्ताले बिहान काठमाण्डौको चाबहिल चोकमा विरोध प्रदर्शन गरेका छन् । 

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई आज बिहान सबेरै निवासबाट प्रहरीले पक्राउ गरेको हो । लेखक पक्राउको विरोधमा के गर्ने भनेर कांग्रेसका नेताहरू परामर्शमा जुटेका छन् । परामर्शपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने कांग्रेस नेताहरूले बताएका छन् ।
 

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update