काठमाण्डौ – पर्सि बुधवार कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि र पर्सि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने तथा पर्सि बुधवार दुई वटा प्रदेशका पहाडी र हिमाली भेगमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
महाशाखाकाअनुसार आज पहाडी र हिमाली केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । चट्याङ, मध्यम वर्षा र हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने बागमती, लुम्बिनी र सुदूरपश्चिमका हिमाली एक÷दुई ठाउँमा पनि हल्का वर्षा र हिमपातको सम्भावना छ ।
भोलि पनि देशभरको मौसमी गतिविधि आजजस्तै रहने अनुमान छ । भोलि पहाडी र हिमाली क्षेत्रमा बदली हुने र केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एक÷दुई ठाउँमा पनि थोरै पानी पर्ने सम्भावना रहेको महाशाखाको अनुमान छ ।
यस्तै पर्सि बुधवार भने मौसम आज र भोलिको तुलनामा थप सक्रिय हुने महाशाखाले अनुमान गरेको छ । विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्सि दिनभरजसो पूर्ण बदली रहनेछ र धेरै ठाउँमा वर्षाको सम्भावना छ ।
गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ भने कर्णाली र सुदूरपश्चिमका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा ठूलो वर्षा र हिमपातसमेत हुन सक्ने सम्भावना रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ ।
पर्सि तराईका केही ठाउँहरूमा समेत मेघगर्जनसहित वर्षाको सम्भावना छ । यो समयमा यात्रा गर्दा, कृषिजन्य गतिविधि गर्दा र दैनिक क्रियाकलाप गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।





