बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले मंगलबारदेखि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
दशरथचन्द नगरपालिकाको ३० औं स्थापना दिवसको अवसरमा जिल्लामै पहिलो पटक कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । किसानहरूले उत्पादन गरेको कृषि उपजलाई सहज ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको नगरपालिकाका कृषि विकास शाखा प्रमुख दीपक कार्कीले जानकारी दिए ।
नगरपालिका र सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको संयुक्त लगानीमा कृषि एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको कृषि विकास शाखा प्रमुख कार्कीले जानकारी दिए । कृषि एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि बनाइएको र सोही कार्यविधि अनुसार सञ्चालन गरिने उनले बताए । उनले भने, ‘कृषि उपज ढुवानी गर्न चाहने किसानले नगरपालिकामा निवेदन दिनुपर्छ । सोही निवेदनका आधारमा किसानले भनेको ठाउँबाट सहुलियत शुल्क्मा बजारसम्म ढुवानी गरिदिन्छौं ।’
कृषि एम्बुलेन्समार्फत किसानहरूले फलाएको उब्जनीलाई बजारसम्म पु¥याउन र उनीहरुलाई आवश्यक पर्ने मल, बीउलगायत कृषि सामग्रीहरू खेतसम्म नै ढुवानी गरिने उनले बताए । नगर क्षेत्रभित्रका किसानहरुको सहजताका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको कार्कीले बताए ।
किसानहरुले उत्पादन गरेको कृषि उपजलाई सहज रूपमा बजारसम्म पु¥याउन कृषि एम्बुलेन्सले सहजता थप्ने नगरप्रमुख पुष्करराज जोशीले बताए ।





