काठमाण्डौ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिरी जमानतमा रिहा गरेको छ ।
ओलीलाई प्रहरीले शिक्षण अस्पतालमै परिवारको जिम्मा लगाएको हो । ओली र लेखकको परिवारले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गएको सोमबार काठमाण्डौ अदालतबाट थपिएको ५ दिन म्याद सकिएपछि हिरासतमुक्त गर्न आदेश दिएको थियो ।
ओली र लेखकलाई पछिल्लो पटक थपिएको ५ दिनको म्याद गएराति सकिएसँगै आज रिहा गरिएको हो । ओली र लेखकलाई प्रहरीले गएको १४ गते पक्राउ गरेको थियो । १३ गते बसेको मन्त्रिपरिषदको पहिलो बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरैसँगै प्रहरीले भोलिपल्ट ओली र लेखकलाई घरबाटै पक्राउ गरेको थियो ।
आयोगले उनीहरुलाई लापरबाहीपूर्ण र हेलचेक्र्याईपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।





