Sagun Khabar
यार्सा संकलन सिजन शुरु : दार्चुलाको अपिहिमालका विद्यालय १५ दिन बन्द 

दार्चुला –यार्सा संकलन गर्ने सिजन शुरु भएसँगै दार्चुलाको अपिहिमाल गाउँपालिकाका विद्यालयहरु १५ दिनका लागि बन्द गरिने भएका छन् । आइतबारदेखि विद्यालयहरु १५ दिन बन्द रहने अपिहिमाल गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । 

शिक्षक, अभिभावक तथा विद्यार्थीहरू यार्सागुम्बा सङ्कलनका लागि लेकतिर जाने भएपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदनराज जोशीका अनुसार वैशाख २७ गतेदेखि पालिकाभर सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालय बन्द रहनेछन् । 

बर्खे बिदासँग मिलान हुने गरेर विद्यालयहरुमा बिदा दिइएको जोशीले बताए । अपिहिमाल गाउँपालिकाका विद्यालय अब जेठ १० गतेदेखि पुनः सञ्चालनमा आउने उनले बताए । 

अपिहिमाल गाउँपालिकाभित्र रहेका २२ ओटा सामुदायिक विद्यालयमा करिब एक हजार १०० विद्यार्थी अध्ययनरत रहेका छन् । तीमध्ये अधिकांश विद्यार्थी अभिभावकसँगै यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलनका लागि पाटन क्षेत्रमा जाने गरेका छन् । 

स्थानीयवासी वैशाख अन्तिम सातादेखि नै यार्सागुम्बा सङ्कलनका लागि पाटन क्षेत्रमा पुगिसकेका छन् । छोटो समयमै राम्रो आम्दानी हुने भएकाले अधिकांश परिवारका सदस्यहरू यार्सा सङ्कलनमा जाने गरेको स्थानीयको सोबान लोथ्यालले बताए । 

यार्सा सिजन सुरु भएसँगै जिल्लाका मार्मा, नौगाड र व्यास गाउँपालिकाका बासिन्दासमेत लेकतिर उक्लिएका छन् । 

कतिपय गाउँका घरहरूमा ताला लागेको अवस्था रहेको स्थानीयले बताएका छन् । अपिहिमाल क्षेत्रका लोलु, रिङ्देपानी, सतगङ्गा, कालीढुङ्गा, काटै, घट्टेखोला, धरमघर, क्षत्ति र चाइमटेलालगायत क्षेत्रमा संकलकहरु पुगेका बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  ०७:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update