बैतडी- बैतडीको दशरथचन्द नगरपालिका–६ थलीगडास्थित कालिका माध्यमिक विद्यालयका एक शिक्षकमाथि विद्यालयभित्रै छात्रालाई यौन दुर्व्यवहार गरेको गम्भीर आरोप लागेको छ।
कक्षा १० मा अध्ययनरत एक छात्रा कक्षाकोठामा एक्लै रहेको मौका छोपी राहत कोटामा कार्यरत शिक्षक नरेशबहादुर चन्दले दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ। करिब एक साताअघि ९जेठ २२ गते० भएको यस घटनाबारे छात्राले घरपरिवारलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो।
घटना बाहिरिएपछि विद्यालय प्रशासन र सरोकारवाला निकायबिच आकस्मिक छलफल भएको थियो। सो छलफलका क्रममा आरोपित शिक्षक चन्दविरुद्ध यसअघि पनि पटक पटक यस्ता गुनासाहरू आउने गरेको तर विद्यालय प्रशासनले मिलापत्र गराएर घटना दबाउने गरेको गम्भीर तथ्यसमेत खुलासा भएको छ।
यसपटक भने चौतर्फी दबाबपछि विद्यालयले कडा कदम चालेको छ। विद्यालयका प्रधानाध्यापक पदमराज लेखकका अनुसार आरोपित शिक्षक चन्दलाई विद्यालयबाट बर्खास्त गरिसकिएको छ।
यता, जिल्ला प्रहरी कार्यालय बैतडीले जेठ ३० गते पीडित पक्षको जाहेरी दर्ता भइसकेको जनाएको छ। आरोपित शिक्षक चन्द प्रहरीको सम्पर्कमा आइसकेकाले उनलाई नियन्त्रणमा लिएर घटनाको सूक्ष्म अनुसन्धान भइरहेको र प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने जनाएको छ





