बैतडी–बैतडीको शिवनाथ गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरेर गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिएको हो ।
पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणाका सबै मापदण्ड पूरा भएपछि गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले बताए ।
शिवनाथ गाउँपालिकाले पूर्ण संस्थागत सुत्केरी घोषणाको मापदण्ड बनाएको र सोही मापदण्ड अनुसार पालिकालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो ।
गाउँपालिकाभरीमा एक बर्षको अवधिमा २ सय ८२ जना गर्भवती आमाहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माएको एकीन भएपछि गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो । यस्तै गर्भवती आमामध्ये कम्तीमा ९० प्रतिशत आमाले चार पटक गर्भजाँच गराएको हुनुपर्ने, सबै गर्भवती आमाहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माएको हुनुपर्ने, स्वास्थ्य संस्थामा कम्तीमा ९५ प्रतिशत आमाले तालिमप्राप्त जनशक्तिबाट प्रसूती सेवा लिएको हुनुपर्ने मापदण्ड तय गरिएको छ ।
पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । आमा र शिशुको मृत्युदरलाई शून्यमा झार्ने अभियान अन्तर्गत पूर्ण संस्थागत सुत्केरी अभियान सञ्चालन गरिएको उनले बताए ।
पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा कार्यक्रममा अध्यक्ष साउँदले पालिकाले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको बताए । उनले भने, ‘२०७६ सालमा वडा नं ३ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने बेला पालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्ने सपना देखेको थिए । त्यो आज पूरा भएको छ । यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चहान्छु ।’
पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, जिल्ला न्यायधीश तीर्थराज भट्ट, जिल्ला अस्पताल बैतडीका प्रमुख डा. अरविन्द जोशी , स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्ट लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।





