बैतडी- ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित सार्वजनिक स्थलमा एक्लै हिँडिरहेकी युवतीलाई आफ्नो गोप्य अङ्ग प्रदर्शन गरी दुर्व्यवहार गर्ने बैतडीका ५५ वर्षीय सुरेन्द्र भट्ट प्रहरीको फन्दामा परेका छन्। सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृत जस्तो जिम्मेवार पदमा कार्यरत भट्टको यो हर्कत सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको हो।
बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ बस्ने भट्टले आइतबार साँझ करिब साढे ६ बजे गल्लीमा युवतीलाई एक्लै देखेपछि कपडा खोलेर अश्लील रूपमा गोप्य अङ्ग प्रदर्शन गरेका थिए।
भट्टको यो हर्कतपछि पीडित युवतीले हिम्मत हार्नुको साटो साहस जुटाएर आफ्नो स्मार्टफोनमार्फत उनको भिडियो खिच्दै पछ्याएकी थिइन् र नियन्त्रणमा लिन गुहार मागेकी थिइन्। भिडियोमा अर्का एक यात्रुको सहयोगमा आरोपी भट्टलाई नियन्त्रणमा लिएको, पीडितले खुट्टा ढोग्न लगाएको र रंगेहात समातिएका शिक्षा अधिकृत भट्टले ‘सरी’ भन्दै माफी मागेको लज्जास्पद दृश्य देखिन्छ।
पीडित युवतीले उक्त भिडियो सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गरेपछि घटनाले व्यापक रूप लियो। भिडियो भाइरल भई सर्वत्र आक्रोश बढेपछि प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलको टोलीले आरोपी भट्टलाई तत्काल नियन्त्रणमा लिएको हो।
हाल पक्राउ परेका ५५ वर्षीय शिक्षा अधिकृत भट्टलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाको थप प्रमाणका लागि उक्त क्षेत्रको सिसिटिभी फुटेज समेत सङ्कलन गरिसकेको जनाएको छ।





