Sagun Khabar
मन्दिर निर्माणको बहानामा सिगासधुराको साउने पूजा स्थगित, आस्थावान्‌द्वारा आलोचना

बैतडी-बैतडीको सिगास गाउँपालिकास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सिगासधुरा धाममा यस वर्ष साउन महिनामा हुने परम्परागत वार्षिक पूजाआजा स्थगित गरिएको छ। मन्दिर क्षेत्रमा भइरहेको पूर्वाधार विकास र निर्माण कार्यलाई सुरक्षित रूपमा सम्पन्न गर्न भन्दै गाउँपालिकाले पूजाआजा स्थगित गरेपछि स्थानीय स्तरमा यसको आलोचना समेत सुरु भएको छ।

गाउँपालिकाका अध्यक्ष हरि सिंह धामीद्वारा हस्ताक्षरित सूचना अनुसार सिगासधुरामा प्रत्येक वर्ष श्रावण १ गतेदेखि १५ गतेसम्म परम्परागत रूपमा पूजा, आजा र धार्मिक अनुष्ठान सञ्चालन हुँदै आएको थियो। तर, हाल उक्त क्षेत्रमा गाउँपालिकाको तर्फबाट मन्दिर निर्माण र पूर्वाधार विकासको काम भइरहेकाले पूजाआजा सञ्चालन गर्न असहज अवस्था सिर्जना भएको भन्दै यो बर्षको श्रावण महिनामा हुने वार्षिक पूजाआजा पूर्ण रूपमा स्थगित गरिएको गाउँपालिकाले जनाएको छ।

धार्मिक तथा प्राकृतिक हिसाबले जिल्लाकै उच्च स्थान
समुद्री सतहबाट करिब २ हजार ९ सय मिटरको उचाइमा रहेको सिगासधुरा धाम जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको धार्मिक स्थल हो। परापूर्वकालमा कैलाशबाट भगवान शिव सिगासधुरामा आएको र बोहरा थरका व्यक्तिले सिगास देवता पाएको किम्बदन्ती तथा जनविश्वास रही आएको छ। भगवान शिवको बासस्थल रहेको विश्वास गरिएको यो धाममा सिगास धुराको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वासका कारण हरेक वर्ष साउन महिनामा हजारौँ भक्तजनहरू यहाँ पुग्ने गर्दथे।

बैतडीका मात्र नभएर सुदूरपश्चिमका अन्य जिल्ला र बाह्य क्षेत्रका दर्शनार्थीहरूको समेत रोजाइमा परेको यो धाम प्राकृतिक हिसाबले पनि निकै मनोरम र रमणीय रहेको छ। चारैतिर बाक्लो जंगलले घेरिएको यो क्षेत्र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ। यहाँ हरेक वर्ष असोज शुक्ल पक्षको पञ्चमीदेखि पूजा सुरु भएर अष्टमीमा मुख्य जात्रा हुने गर्दछ भने चैत्राष्टमीमा पनि भव्य जात्रा लाग्ने गर्दछ।

निर्णयको आलोचनाः आस्थामाथि प्रहार गरियो
यसैबिच, गाउँपालिकाले निर्माण कार्यलाई कारण देखाउँदै वर्षौँदेखि चल्दै आएको साउने पूजा र अनुष्ठान नै ठप्प पार्ने निर्णय गरेपछि धार्मिक आस्थावान् र स्थानीय बासिन्दाहरूले यसको विरोध र आलोचना गर्न थालेका छन्। विकास निर्माणका कामहरू र पूजापाठलाई आवश्यक समन्वय गरेर सँगसँगै लैजान सकिने विकल्प हुँदाहुँदै, दर्शनार्थीहरूलाई पूजापाठ र दर्शन गर्नबाटै बञ्चित गराउनु न्यायोचित नभएको स्थानीयको भनाइ छ। वर्ष दिनमा आउने साउने मेला नै रोक्नुले परापूर्वकालदेखि चलिआएको धार्मिक परम्परा र जनआस्थामाथि प्रहार भएको भन्दै सामाजिक सञ्जाल र स्थानीय स्तरमा आलोचना भइरहेको छ।

उता गाउँपालिकाले भने यस निर्णयबाट भक्तजनहरूमा पर्न जाने असुविधाप्रति हार्दिक क्षमायाचना व्यक्त गरेको छ। मन्दिर निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरी आगामी वर्षहरूमा अझ व्यवस्थित र सुविधायुक्त वातावरणमा धार्मिक गतिविधिहरू सञ्चालन गरिने दाबी गाउँपालिकाको छ।

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  १८:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update